धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात्कार गरेको अभियोगमा धरान प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

जेठ १६ गते ३८ वर्षीय बाबुले आफ्नै छोरीमाथि जवर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । उनलाई तत्कालै प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । परिवारभित्रै घटना भएकाले पीडक बाबुको नाम पनि सार्वजनिक गरिएको छैन ।

‘विशेष प्रकृतिको मुद्दाहरूको कारबाहीमा गोपिनियता कायम गर्ने कार्यविधि–२०६४’ अनुसार पीडितको पहिचान गोप्य राखिएको इप्रका धरानले जनाएको छ । उनीमाथि हाडनाता तथा जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाइएको छ । पछिल्लो समय जवर्जस्ती करणी र उद्योगका घटना बढिरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

हाडनाता करणीमा यस्तो छ व्यवस्था ?

मुलुकी अपराध संहित २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था उल्लेख छ । ३ को ख मा १० वर्षभन्दा बढी वा चौध वर्षभन्दा कम उमेरकी बालिका भए ‘अठारदेखि २० वर्षसम्म’ कैद हुने व्यवस्था छ ।

त्यस्तै दफा २२० हाडनाता करणीको उपदफा २ को क मा बाबुले छोरीमाथि करणी गरेमा जन्मकैदको व्यवस्था गरेको छ । २२० को उपदफा १ ले स्पष्टसँग कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यताअनुसार विवाह गर्न नहुने र नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिमाथि करणी लिनु दिनु हुँदैन भनेर उल्लेख गरिएको छ ।