धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीमान्तकृत युवतीलाई गर्भवती बनाएको आरोपमा धरान उपमहानगरका पूर्व कर्मचारीलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरको सामाजिक विकास शाखामा कार्यरत रहेका पूर्व कर्मचारी चक्रबहादुर राईलाई आइतबार पक्राउ गरिएको हो । अवकास हुनुपूर्व उनी धरान–२० को वडासचिव पनि रहेका थिए । चक्रबहादुरले केही समयअघि ती युवतीलाई घरमा राखेका थिए । केही दिनअघि मात्रै ती युवतीलाई घरबाट निकालिदिएपछि विष्णुपादुकाको वन गस्तीमा हिँडेका महिलाहरूले देखेपछि सोध्दा वास्तविकता खुलेको विष्णुपादुका माछामाराका एक स्थानीयले बताए । ‘खेदेपछि घटना थाहा पाइयो । घरकै मामला भन्ने देखियो’–ती स्थानीयले भने ।

त्यसपछि महिलाहरूकै सक्रियतामा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिइएको थियो । उजुरीपछि चक्रबहादुर पक्राउ परेका थिए । उनी पक्राउ भएको केही समयपछि नै उनको श्रीमती ४४ वर्षीया बिमला राई घरको सिकुवा (भूँइ) मा मृत अवस्थामा भेटिएकी थिइन् । पति चक्रबहादुरलाई प्रहरीले ६ बजेतिर पक्राउ गरेको थियो भने उनी करिब साढे ९ बजेतिर खाटबाट घोप्टो परेर लडेको अवस्थामा स्थानीयबासीले देखेका थिए ।

स्थानीयका अनुसार ती महिला लामो समयदेखि मापासे गर्दै आएकी थिइन् । ‘सुतिरहेको खाटैबाट लडेर म¥यो भनेर भन्यो’ नाम नछाप्ने शर्तमा ती स्थानीयले भने, ‘मापासे पहिलेदेखि नै खान्थ्यो ।’ श्रीमान्लाई पक्राउ गरेको कारणले थप तनाव बढेकाले पनि अत्यधिक मापासे गरेको हुन सक्ने स्थानीय बताउँछन् । उनको शव बीपी प्रतिष्ठानको मर्चरीमा पोष्टमार्टमका लागि राखिएको छ ।

बिमला आरोपित चक्रबहादुरको दोस्रो पत्नी हुन् । ती सीमान्तकृत युवतीको करिब ६–७ महिनाको पेट भइसकेको स्थानीय बताउँछन् । गाई गोठालाको रूपमा राखिएकी ती युवतीलाई घरबाट निकाला गरेपछि मात्रै घटना बाहिर आएको हो । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले विष्णुपादुकाको महिला बचत तथा ऋण सहकारी संस्थाले बच्चीको तर्फबट उजुरी गरेपछि पक्राउ गरिएको बताए । उनका अनुसार ती सीमान्तकृत युवतीलाई २०७५ साल पौसे मेला भर्न आउँदा बेवारिसे जस्तो अवस्थामा भेटेपछि आरोपित चक्रबहादुरले लालनपालन गर्दै आएका थिए । पीडित युवतीले घरधनी बाबाले नै यस्तो गरेको भनेर महिला अधिकारकर्मी तथा प्रहरीमा पनि प्रारम्भिक बयान दिएपछि पक्राउ गरिएको थियो । पछि श्रीमतीको मृत्यु भएको भन्ने सुन्नमा आएपछि वडाध्यक्ष मणिराम राईलगायतलाई राखेर नै मुचुल्का उठाएर शवलाई बीपी प्रतिष्ठानको मर्चरीमा राखिएको बताए । मृत्यु के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।