भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट रकम छुट्याएर सङ्क्रमित ओसार्न बस भाडामा लिएको छ ।

सङ्क्रमितको सङ्ख्या दिनैपिच्छे बढिरहेकाले उनीहरूलाई उपचारका लागि पठाउन गाउँपालिको एक महिनाका लागि बस भाडामा लिएको हो । कचनकवलमा एकैपटक १० देखि २७ जनासम्म सङ्क्रमित थपिएका छन् । यस्तो अवस्थामा उपचारका लागि पठाउन सवारी साधन समस्या हुँदै आएको थियो । गाउँपालिकामै रहेको मे १ ख २४६७ कोहिनुर यातायातलाई मासिक ९० हजार तिर्ने सर्तमा भाडामा लिएको गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले बताए ।

गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स भएकोले एकै पटक सङ्क्रमित पठाउन नसकिएको र अन्य एम्बुलेन्स आए पनि घण्टौँ कुर्नु पर्ने बाध्यताले गाउँकै युवाहरूलाई सहज रूपमा उपचारका लागि पठाउन बस भाडामा लिएको उनले जनाए ।

स्वाब सङ्कलन जारी

दुई साताको अवधिमा एक सय जना सङ्क्रमित पुष्टि भएको कचनकवलमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अहिले धमाधम स्वाब सङ्कलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । भारतबाट आएर क्वारेन्टाइनमा राखिएका साढे ४ सय जनाको स्वाब सङ्कलन भइसकेको उनले जनाए । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय गरी करिब एक सय जनाको पनि थप स्वाब सङ्कलन गरिएको उनले बताए । त्यसमध्ये अहिलेसम्म ३०७ जनाको पीसीआर रिपोर्टमा एक सय जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।

शुक्रबार र शनिबार गरी २७५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको उनले बताए । हाल गाउँपालिकामा ६ वटा क्वारेन्टाइन निर्माण गरिएको उनले जनाए । शुक्रबार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत गरी १५२ र शनिबार ७३ जनाको स्वाब सङ्कलन गरिएको उनले बताए । उनका अनुसार पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा बसेका ३३ जनाको रिपोर्ट पोजेटिभ आएपछि त्यहाँ बसेका १० जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ७४ जनाको स्वाब पुनः सङ्कलन गरी पठाइएको छ ।

गाउँपालिकामा ७४ र २७५ गरी ३४९ जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनमा बसेका सबै जना भारतको सङ्क्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका थिए भने अहिले पनि आउने क्रम जारी रहेको सशस्त्र प्रहरी केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङले बताए ।