• डा‍ . रमेश घिमिरे
हामी कर्मठ छौँ, सशक्त पनि छौँ, निस्वार्थ छौँ, स्वच्छ छौँ
साँच्चै निश्छल छौँ, इमानपथका यात्री अविश्रान्त हौँ ।
हामीमै यस विश्वको छ सुकिलो विश्वास आभ्यन्तर
हाम्रो पौरख विश्वकै गहकिलो अस्तित्व हो सायद ।।
‍‍‍‍‍‍‍‍‍‍‍‍...........
पूर्खा दुर्दम शक्तिका उदयले ज्यूँदा र जाग्दा थिए
आफ्नै मौलिक चेतले हृदयमा ऊर्जा लिई जाग्दथे ।
तेजस्वी उनका विचारबलले संसार थर्काउँथ्यो
हामी सन्तति हौँ सुयोग्य उनकै, के ओज मुर्झाउँथ्यो ?
........
हामी स्वच्छ हिमाद्रिका पवनको छौँ श्वासले जीवित
हुन्छौँ हैमवती नदी र झरनामा नित्य आप्लावित ।
हाम्रो बैँस गुराँसका कुसुमले उर्लिन्छ वैशाखमा
हाम्रा जीवनगीतमा प्रकृतिका छन् दिव्य आराधना ।।
........
हाम्रो पर्वतझैँ सधैँभर उचा छ स्वाभिमानी शिर
आस्थाको घर यो स्वतन्त्र छ धरा, पूर्खा लडेको स्थल ।
पुण्यात्मा तपले, महर्षिगणका ‘द्यौ शान्ति’का मन्त्रणा
गुन्जिन्छन् यस देशका गिरिगुफा या कुञ्ज, उद्यानमा ।।
........
श्रद्धा, प्रेम र शान्तिका विजयको उद्दीप्त शङ्खध्वनि
छर्दै गौरव गाउँछिन् मुलुकको यै देशकी लुम्बिनी ।
यौटै ताल मिलाउँछन् सयथरी यै देशका बाँसुरी
नाच्छिन् सुन्दर धाननाच रहुसे पालाममा लिम्बुनी ।।
........
हाम्रो देश कहाँ झुक्यो र कसका दासत्वमा भासियो ?
हाम्रा सामु उठाउँदै शिर कुनै साँढे कहाँ डुक्रियो ?
बोकी दम्भ असाध्य विश्वजगतै मेरो भनी कुर्लिने
मैमत्ता सब ती भकाभक ढले हाम्रा खुँडाकर्दले ।।
........
झन्डामा यस देशका, गगनका राजा स्वयं बस्तछन्
हाम्रो शाश्वत सार्वभौम महिमा साक्षी बनी हेर्दछन् ।
पढ्दैनौ किन खूब सुन्दर कथाकुञ्जी महाभारत ?
ठूला कौरवका समक्ष उभिने सानै थिए पाण्डव ।।
 
धरान