धरान । भारतको बिहार राज्यस्थित सीतामडीमा बिहे भएर गएकी धरानकी एक महिलाको मृत्युको खबर माइतीपक्षलाई नदिई जलाएपछि मृत्युबारे शंका उत्पन्न भएको छ ।

धरान स्थायी घर भएकी रेखा दासको बिहीबार अपरान्ह ३ बजेतिर मृत्यु भए पनि नेपालमा रहेका माइतीपक्षलाई जानकारी नै नगराएको परिवारले जनाएको छ । धरानमा रहेका माइतीपक्षले छोरीको हत्या गरेको आरोप लगाएको छ । रेखाका भाइ राजु दासले दिदीको मृत्युबारे कसैलाई जानकारी नै नदिई जलाउनुले हत्यातर्फ संकेत गरेको बताए ।

‘‘योभन्दा अगाडि पनि दिदीलाई मानसिक टर्चर दिँदै आइरहेका थिएँ’ उनले भने, ‘झाडा पखालाले मृत्यु भयो भनेर अहिले भन्छन्, तर हामीलाई विश्वास छैन ।’ अहिले उनको भेना शिवकुमार रामको फोनसमेत स्वीचअफ रहेको छ । करिब १३ वर्षअघि बिहे गरेका रेखालाई विभिन्न निहुँमा मानसिक र शारीरिक यातना दिँदै आएको माइती पक्षको आरोप छ । रेखाको ११ वर्षीया, ७ वर्षीया र ३ वर्षीया छोरी छन् । छोरी भएको निहुँमा पनि यातना दिँदै आएको उनले बताए । 

मृत्यु भएको दिन एउटा छोरीले मट्टितेल पोखाइदिएको निहुँमा देवरले कुटेपछि रेखाले प्रतिकार गर्दा उनीमाथि नै जाइलागेको छिमेकीहरूको भनाइ उदृत गर्दै धरान–९ का वडाध्यक्ष रत्नबहादुर कट्वालले जानकारी दिए । ‘मट्टितेल पोखाइदिएको निहुँमा देवरले छोरी कुटेपछि रेखाले किन कुटेको भनेर अब्जेक्सन जनाउँदा उसलाई नै कुटपिट गरेछन्’ उनले भने, ‘त्यहीँ निहुँमा मारेछन् । र, माइतीपक्षलाई जानकारी नदिई नै जलाएछन् ।’ 

रेखाको छिमेकीहरूले भारतमै रहेकी रेखाकी दिदीलाई फोन गरेर बताएपछि घटना थाहा भएको मृतकका भाइ राजु दासले बताए । ‘अति सामान्य झगडा परेको रहेछ, त्यहीँ निहुँमा मेरो दिदीलाई मारेछन्, पछि झाडापखालाले मरेको हो भन्दै सद्गत गरेछन्’ उनले भने, ‘यहाँ हामीलाई थाहै छैन । जेठी दिदीले फोन गरेर सोध्दा तेरो बहिनी ठीकै छ, राम्रै छ भनेर भनेछन् ।’ 

उनका अनुसार जेठी दिदीले गएर प्रहरीमा जानकारी गराउँदा बुबाले रिपोर्ट लेखाउनु पर्छ भनेपछि आफूहरू यहाँको प्रशासनमा जानकारी गराउन इलाका प्रहरी कार्यालयमा आएका छौं । यहाँबाट जाने अनुमति भएपछि भारत गएर उजुरी लेखाउने उनले बताए । रेखा २०४८ सालमा जन्मिएकी हुन् ।