पथरी । पूर्वमा कोरोना भाइरस संक्रमण जोखिम बढेपछि मोरङको कानेपोखरीले पहिलो पटक विहीबारदेखि तीन दिन बन्द तथा लकडाउन कडाइ गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न राजनितिक दल, व्यापार प्रबन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेपछि तीन दिन लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो । बैठकले बिहान ६ देखि १० बजेसम्म सञ्चालनमा आएका विभिन्न खाद्यान्न, सागसब्जीसहितका पसलहरू बन्द गर्ने भएको छ । गाउँपालिका क्षेत्रको सीमामा प्रहरीमार्फत आवतजावतमा पूर्णरूपमा बन्द समेत निर्णय गरेको छ । कसैको खाद्यान्न, सागसब्जी र चियानास्ता पसल खोलिएमा दण्ड जरिबानासहित कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरस संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टाइनमा पुर्याउनु अघिको तत्कालीन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्थासमेत मिलाउन गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । अध्यक्ष काफ्लेले गाउँपालिका क्षेत्रमा कोरोना भाइरस जोखिम बढ्न नदिन सबै गाउँबासीलाई सजग भएर घरभित्रै बसी तीन दिन बन्द तथा लकडाउनको नियमलाई मानिदिन समेत आग्रह गरेका थिए । तीन दिनपछि अबस्था हेरेर कडाइ थप गर्ने अध्यक्ष काफ्लेले बताए ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपाल सरकारले दिएको पासबाहेक सवारी साधन चलाएमा पक्राउ गरी मुद्दा चलाउन समेत आदेश दिएको छ । उता विकास निर्माणको काम भने सामाजिक दूरी कायम गर्दै सञ्चालन रहनेछ ।