धरान । सुनसरीमा पुनः दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ । तर, आधिकारिक पुष्टि भएको छैन ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा इटहरीका १८ वर्षीय युवक र एक जना सशस्त्र प्रहरीका जवान छन् । प्रतिष्ठान स्रोतका अनुसार ति युवक र सशस्त्रका प्रहरी जवानको रिपोर्ट राति १ः०० बजे आएको थियो ।

हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेवसाइटमा पनि अद्यावधिक भएको छैन । सुनसरीमा योसँगै ३ जनामा कोरोना संक्रमण भएको लगभग पुष्टि भएको छ । आधिकारिक पुष्टि केही समयमा हुने विश्वास गरिएको छ । स्रोतका अनुसार सशस्त्र प्रहरी जवान कार्यरत रहेको स्थानसमेत खुलाइएको छैन । तर, उनी सीमा क्षेत्रमा खटिएका थिए । उनकाे हिजाे स्वाब संकलन गरेर बीपी प्रतिष्ठानमा पठाइएकाे थियाे । 

हिजो मात्रै सुनसरी गढी गाउँपालिकाका एक युवालाई कोरोना संक्रमण भएको बीपी प्रतिष्ठानमै पुष्टि भएको थियो । ती युवा ११ दिन पैदल हिँडेर दिल्लीबाट नेपाल आएका थिए । १५ जना टोलीमा आएका मध्ये एक जना युवामा कोरोना संक्रमण देखिएको हो । उनीहरू वैशाख २९ गते नेपाल प्रवेश गरेका थिए भने तिनीमध्येका एक धरानका युवा पनि थिए । उनलाई नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको छ ।