धरान । छिमेकी देश भारतमा कोरोना भाइरसबाट २ हजार ८ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो आँकडाअनुसार २ हजार ८६२ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा मात्रै एक सय ९ जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ९० हजार ३४३ जना कोरोनाबाट संक्रमित बनेका छन् भने ३३ हजार ८६१ जना उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित बिरामी फेला परेका छन् । कोभिड १९ इण्डिया डट ओआरजीको आँकडा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डाटामा केही फरक देखिएको छ ।

जनसंख्या मन्त्रालयको आँकडामा भने हालसम्म ८५ हजार ९४० जना कोरोनाबाट संक्रमित भएको देखाएको छ । जसमा २ हजार ७ सय ५२ जनाको मात्रै मृत्यु भएको उल्लेख छ । फरकफरक आँकडाका कारण पनि भारतीय जनतामा अन्यौलता सिर्जना गरेको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमित रहेका छन् । हालसम्म ३० हजार ७०६ जना कोरोनाबाट संक्रमित बनिसकेका छन् भने १ हजार १३५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६०६ नयाँ कोरोना रोगी थपिएका छन् । ६७ जनाको ज्यान गएको छ । दिल्लीमा पनि ९ हजार ३३३ जना कोरोना संक्रमित पुगेका छन् । १२९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा ज्यान गुमाउनेमध्ये एक जना मात्रै विदेशी नागरिक छन् । गुजराज पनि त्यतिकै प्रभावित बनेको छ । गुजरातमा हालसम्म १० हजार ९८९ जना कोरोना संक्रमित पुगिसकेका छन् भने ६२५ जनाले ज्यान गुमाएका छन् ।