धरान । कोरोना लकडाउनका कारण कतिपय प्रातकालीन हिँडाइ बन्द गर्नु भएका होला । कतिपय भने मास्क लगाएरै भए पनि प्रहरीको आँखा छलेर दौडिरहनु भएको होला हैन । होसियार ! मास्क लगाएर दौडिने क्रममा चीनको बुहान प्राप्तमा एक २६ वर्षीय युवाको ज्यान गएको छ ।

फेस मास्क लगाएर दौडिएका झ्याङ पिङ (नाम परिवर्तन) को गत बिहीबार (मे ७ तारिख) उपचारको क्रममा मृत्यु भएको हो । दस्मार्टलोकल डटकमका अनुसार प्रातकालीन हिँडाइ पूरा गरेर घर आएपछि उनलाई छाती दुख्न सुरु भएको थियो । वुहान प्रान्तमा करिब तीन महिनाको लकडाउनपछि ९ अप्रिलमा लकडाउन खुकुलो बनाएको थियो ।
त्यसपछि धेरै मानिसहरू मर्निङ वाक (प्रातकालीन हिँडाइ) सुरु गरेका थिए । त्यही क्रममा यी युवाले पनि दैनिक मास्क लगाएर दौडिँदै आएका थिए ।

छाती दुख्न सुरु भएपछि उनको परिवारले अस्पतालमा भर्ना गरेको थियो । फेसमास्कका कारण सहज रूपमा स्वासप्रश्वास हुन नपाएपछि उनको फोक्सोमा समस्या भएको थियो । सिनियर फिजिसियन डा. चेन बाउजुनका अनुसार मास्कका कारण स्वासप्रश्वास सहज हुन नपाउँदा उनको फोक्सोले काम गर्न छाडेको थियो । मास्कका कारण अक्सिजन शरीरमा प्रवेश गर्न नपाउँदा मुटुमा समस्या भएको थियो । डा. बाउजुनले युवाको मृत्यु लगत्तै शारीरिक कसरत गर्ने बेलामा कसैले पनि मास्क प्रयोग नगर्न सल्लाह दिएका छन् ।