इनरुवा / सुनसरीको सीमा क्षेत्रमा रहेका गाउँपालिकामा होल्डिङ एरिया बनाउन लागिएको छ ।
जिल्लाका दक्षिणवर्ती चार गाउँपालिकामा होल्डिङ एरिया निर्माणको काम थालिएको सुनसरी प्रशासनले जनाएको छ ।
लकडाउनको समयमा समेत भारतबाट नेपाल भित्रने क्रम नरोकिएकाले सीमा क्षेत्रको नेपाली भूमिमा होल्डिङ एरिया बनाउन लागिएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार बढी आउजाउ देखिएका नाकालाई लक्षित गरी होल्डिङ एरियाको काम अघि बढाइएको छ । जसकालागि स्थानीय पालिकाहरुसँग समन्वय गरिएको छ ।

प्रशासनका अनुसार सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज र गढी गाउँपालिका क्षेत्रमा होल्डिङ एरिया निर्माणको काम अघि बढाइएको हो । बर्जु गाउँपालिका क्षेत्रमा समेत आवश्यकता हेरी काम अघि बढाइने प्रजिअ पौडेललेजानकारी दिए ।

प्रशासनका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइने छ ।
प्रजिअ पौडेलका अनुसार एक गाउँपालिकाका दुई स्थानमा त्यस्ता होल्डिङ एरिया तोकिने छ । एक पालिकामा कम्तीमा ३ सय जनालाई तत्काल होल्ड गर्न मिल्ने गरी पूर्वाधार तयार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।