ताप्लेजुङ । विदेशमा रहेका ताप्लेजुङका नागरिकको तथ्याङ्क संकलन गरिने भएको छ ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितीको सोमबार बसेको बैठकले जिल्लाका सबै स्थानीय तहलाई वडा समितिमार्फत सात दिनभित्र तथ्याङ्क संकलन गर्न आग्रह गरेको हो । तथ्याङ्क संकलन गरी उनीहरूलाई आवश्यकताको आधारमा जिल्ला फर्काउने तयारी भएकाले समितिले स्थानीय तहलाई क्वारेण्टाइनको संख्या थप्न आग्रह पनि गरेको छ । विदेशमा रहेका नागरिकहरू घरमा फर्कन सक्ने भएकाले त्यसको तयारी गर्न सम्बन्धित स्थानीय तहलाई भनिएको हो ।

विदेशमा धेरै नेपालीहरू अलपत्र परेको अवस्थामा सरकारले उनीहरूलाई फर्काउने तयारी गरेपछि जिल्ला जिल्लामा तयारी थालिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । स्थानीय तहहरूले बनाउने क्वारेण्टाइन मापदण्ड अनुसारको हुनुपर्ने छ । प्रजिअ निरौलाका अनुसार सामुहिक रूपमा जिल्लामा भित्रन चाहने नागरिकलाई पनि निरुत्साहन गरिने भएको छ । विभिन्न संघसंस्था तथा स्थानीय तहको सिफरिसमा आएकालाई जिल्ला प्रवेश नदिइने भएको हो ।

यता वन पैदावार ढुवानी भने खुल्ला गरिएको छ । लकडाउन रहे पनि सरकारले भेनियर, प्लाई लगायतका उद्योगहरू सञ्चालन गर्न अनुमति दिएपछि ति उद्योगहरू कच्चा पदार्थ नपाएर समस्यामा परेका थिए । डिभिजन वन कार्यालयले अनुरोध गरेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी, स्वास्थ्य एवम् सामाजिक दूरीका मापदण्डहरू पालन गरेर गोलिया तथा काठ गन्तव्यसम्म पु¥याउन दिइने भएको हो ।