धरान । स्पेनको चर्चित ‘लालिगा’ मा सहभागी क्लबमध्ये ५ खेलाडीलाई कोरोना भएको पुष्टि भइरहेकै बेला स्पेनको अर्को चर्चित क्लब बार्सिलोनाका खेलाडी भने अभ्यासमा फर्किएका छन् ।

बार्सिलोनाका खेलाडीहरू ५६ दिनपछि दैनिक अभ्यासमा फर्किएका हुन् । कोरोनाका कारण पूर्णरूपमा प्रभावित बनेको फुटबलमा गतिविधिहरू सुरु हुन थालेका छन् । स्पेन सरकारले यसैसाता क्लबहरूलाई अभ्यासको अनुमति प्रदान गरेपछि बार्सिलोनाका खेलाडीहरू मैदानमा देखिएका हुन् ।

लिग सुरु गर्ने तयारी भएको छ । सोही अनुरूप बार्सिलोनाका खेलाडीहरू अभ्यासमा फर्किएका हुन् । पहिलो दिन कप्तान लियोनल मेसी, एन्टोनियो ग्रिजम्या, लुइस सुआरेज, मार्क आन्द्रे, जेरार्ड पिकेलगायतका खेलाडी सहभागी छन् । स्पेनिस फुटबल मिडिया मार्काका अनुसार खेलाडीहरू ट्रेनिङ सेन्टरमा एक्काएक्लै तालिम गरिरहेका छन् । स्पेन सरकारले क्लबहरूलाई व्यक्तिगत तालिम गर्नका लागि मात्रै अनुमति प्रदान गरेको छ ।

यता सेभिया, भिल्लारियल, लेगानेसले पनि शुक्रबारबाट अभ्यास थालेका थिए । स्पेनको अर्को बहुचर्चित क्लब रियल मड्रिडले भने आजबाट अभ्यास थाल्ने भएको हो । अभ्यासका लागि हाल सबै खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ । हाल रिपोर्टको पर्खाइमा रहेका कारणले पनि रियलले अभ्यास ढिला गरी सुरु गरेको हो । ला लिगा २० जुनबाट सुरु हुने बताइएको छ । बाँकी रहेका खेलहरू २६ जुलाईसम्म सम्पन्न गर्ने योजनामा लालिगा रहेको छ ।

लालिगाका अनुसार आइतबरा गरिएको परीक्षणमा पाँच खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरे पनि पहिचान खुलाएको छैन । तर, लालिगामा सहभागी हुने क्लब रियल बेटिसले आफ्ना ३ जना खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गर्दै नामसमेत सार्वजनिक गरेको छ । बेटिसले जनाएअनुसार जोयल रोब्लेस, अल्फोन्सो पाड्राज र जुआन्मी जिमिनेजलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । यता रियल सोसिडाडका गोलरक्षक एलेक्स रेमिरो र एथ्लेटिको मड्रिडका लेफ्ट ब्याक रेनन लोडीलाई कोरोना भएको पुष्टि भएको छ । उनीहरू होम क्वारेन्टाइनमा छन् ।

real_sosidad_spenich

real betis player, who have 3 player covid 19. photo source: marca