धरान । पास नलिई ढुंगागिटी उठाइरहेको पाइएपछि धरान प्रहरीले तीन वटा ट्याक्टरलाई धरान–५ देउराली क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

पास नलिई ढुंगागिटी निकासी गरिरहेको पाइएपछि सोमबार बिहान तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरलाई प्रतिट्याक्टर एक हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ । इलाका प्रहरी कार्यालय धराका अनुसार को २ त ५०२१, को २ त ८१६८, र को २ त ४२०८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको थियो ।

लकडाउनको अवधिमा ढुंगागिटी निकासी गर्दा अनिवार्य रूपमा धरान उपमहानगरपालिकाको अनुमति लिनु पर्ने व्यवस्था छ । सोअनुरूप धरान उपमहानगर तथा प्रहरी प्रशासनलाई जानकारी नै नदिई संकलन गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन वटै ट्याक्टरलाई प्रतिट्याक्टर एक हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ ।

आइन्दा दिनमा यस्ता गभ्भीर त्रुटि नगर्नका लागि समेत सुझाव दिइएको छ । धरान–१५ र ५ को सीमाना पर्ने सेउती खोलाबाट ढुंगागिटी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो । अहिले धरान उपमहानगरले ठेकेदार कम्पनीलाई ढुंगागिटी निकासीका लागि अनुमति दिएको छ । विकास निर्माणको कामका लागि मात्रै अनुमति दिए पनि अहिले कतिपय ठेकेदारहरूले घर निर्माणको लागि ढुंगागिटी बिक्री गरिरहेको गुनासो पनि व्यापक रूपमा आएको छ ।