सिरहा  /  राहत वितरणमा विवाद हुँदा सिरहाको मिर्चैयामा गोली चलेको छ ।  मिर्चैया नगरपालिका ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको थियो ।
झडपलाई भीड तितरवितर पार्न प्रहरीले गोली चलाउन परेको थियो ।

वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न ९ राउन्ड हवाई फायर गरेको हो । ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए । घटनामा ५ जना प्रहरी र ४ स्थानीय घाइते भएका छन् ।

वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै २ दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता जनाएका थिए ।