धरान । सप्तरीको बोधेबर्साइन नगरपालिकाबाट एक परिवार रातारात एम्बुलेन्समा धरान–८ सिद्धार्थमार्गको आफ्नो घरमा आएपछि स्थानीय त्रसित बनेका छन् ।

लकडाउनको समयमा एम्बुलेन्स प्रयोग गरेर रातको करिब १२ बजेतिर आएपछि स्थानीयहरू त्रसित बनेका छन् । स्थानीयले प्रहरी तथा धरान उपमहानगरपालिकालाई फोन गरेर यसबारेमा जानकारी गराएका थिए । अहिले ती परिवारलाई स्थानीयको निगरानीमा राखिएको छ । २ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब नमूना संकलन गर्ने तयारी भएको धरान उपमहानगरका बरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।

रातको समयमा आएपछि स्थानीयहरू आतंकित बनेर आफूहरूलाई खबर गरेको उनले बताए । सोमबार बिहानै उनीहरू आएको गाउँमा हल्ला चलेपछि स्थानीयले आफूहरू खबर गरेपछि होम क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षणका लागि अपरान्ह २ बजेतिर बीपी लगिने तयारी भएको उनले बताए । १२ वर्षदेखि ४५ वर्ष उमेरसम्मका एकै परिवारका व्यक्तिहरू रातको समयमा एम्बुलेन्स प्रयोग गरेर घर आएका थिए ।

५ जना परिवार नै लकडाउन अगाडि नै धरानबाट सप्तरी गएका थिए । त्यसमध्ये घरको मुलीचाहिँ भारतको विभिन्न स्थानमा पुगेर फर्किएकोसमेत बताइएको छ । औषधि लिनका लागि भारतको विभिन्न स्थानमा पुगेको भन्ने खबरसम्म आएको एक स्थानीयले बताए । उनीहरूलाई प्रहरीले घरभन्दा बाहिर ननिस्किनका लागि निर्देशन गरेको छ । स्वाब संकलनपछि मात्रै उनीहरूलाई होम क्वारेन्टाइनमा पठाउने या धरान–१३ स्थित नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा पठाउने भन्ने निर्णय हुने बरिष्ठ कविराज यादवले जानकारी दिए ।

परिवारका दुई सदस्यले भने आइतबार राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा आरडिटी परीक्षण गरेको रिपोर्ट लिएर आएका छन् । जसमा रिपोर्ट संक्रमण नभएको (नेगेटिभ) आएको छ । तर, रातको समयमा एम्बुलेन्स प्रयोग गरेर आएका कारण पनि स्थानीयहरू आतङ्कित बनेका हुन् ।