उदयपुर / बिराटनगरको नोवेल हस्पिटलले उदयपुरको एक सुत्केरीलाई उपचारबाट बन्चित गरेको भन्दै उदयपुरबासीहरु आक्रोशित भएका छन् । कोरोना महामारीको समयमा एक अर्कामा सहयोग भावना पैदा गर्नु पर्नेमा हस्पिटलले अमानवीय व्यवहार गरेको भन्दै आक्रोशित भएका हुन् ।

आइतबार प्रदेशसभा सदस्यहरु विमल कार्की, नारायण बुर्जामगर, त्रियुगा नगरपालिकाका मेयर लिदेव चौधरी र नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले सयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै हस्पिटलको सम्पूर्ण विज्ञापन उदयपुरमा निषेध गर्ने जनाएको छ । हस्पिटलले नागरिकको नैसर्गिक र संविधानप्रदत्त अधिकार हनन गरेको उनीहरुको ठहर छ ।

यस्तो महामारीको समयमा स्वास्थ्य क्षेत्र संवेदनशिल र सकरात्मक रुपमा रहेनु पर्नेमा गम्भिर प्रकृतिका विरामीलाई नै उपचारबाट बन्चित हुनु दुर्भाग्य भएको उनीहरुको भनाई छ । एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्नु गैरकानुनी र अपराधमुखी काम रहेको भन्दै कुनै पनि जनताको स्वास्थ्य उपचार भनेको नैसरगीक अधिकार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशमै सवै भन्दा धेरै कोरोना संक्रमित उदयपुरमा फेला परेको थियो । यो वेला अझै सेवा सुविधा र सहयोगमा जुट्नु पर्ने अवस्थामा हस्पिटलको यो क्रियाकलाप प्रति स्थानीय सरकार र प्रदेश सरकारको गम्भिर ध्यानकर्षण रहेको भन्दै त्यहाँको सम्पूर्ण विज्ञापन तथा प्रचार प्रसार उदयपुरमा ठप्प बनाउने त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताए ।

त्रियुगा नगरपालिका–११ निवासी २९ बर्षिया सरस्वती रौनियार सुत्केरी जस्तो गम्भिर प्रकृतिको विरामीलाई उदयपुरकै भएकाले नोवेल हस्पिटलले उपचारबाट वन्चित गरेको थियो । बिज्ञापन तथा प्रचार प्रसारमा निषेध गर्न सबै निकायहरु नागरिक, स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संञ्चाकर्मी, संघसंस्था, लगाएतका सबै पक्षहरुलाई मेयर चौधरीले अनुरोध गरेको छ ।
यस घटनाको छानविन गरी नोवेल हस्पिटललाई कडा भन्दा कडा कार्वाही गर्न प्रदेश सरकार र संघीय सरकारसँग मागसमेत गरिएको छ ।