पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ (संक्रमण नभएको) आएको छ ।

दुई चरणमा गरिएको परीक्षणमा सबै जनाको रिर्पोट नेगेटिभ आएको हो । वडा नं. १, २, र ३ वडाबाट २० जना र ४, ५, ६ र ७ बाट ११ जनाको आरडिटी नमूना परीक्षण गरिएको थियो । परीक्षण गर्न बोलाएको वडा नं. ४ बाट ४ जना उपस्थित नभएको स्वास्थकर्मी निशा राजभण्डारीले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना परीक्षण गरिएको स्वास्थ संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।

कानेपोखरी–२, स्थित बाँघेझोडाका ७२ वर्षीय लक्ष्मीप्रसाद भट्टराईको आरडिटी टेष्ट नेगेटिभ देखिए पनि स्वास्थ उपचारको क्रममा बैशाख ३ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । मृतक भट्टराई घरमा भारतीय नागरीकको समूह आएर केही समय घरमै बसेको कारण कोरोना भाइरस संक्रमण हुने भन्दै स्थानीयहरूको पहलमा विराटनगर लगिएको थियो । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।