धरान । बलिउड फिल्म उद्योगमा केही यस्ता फिल्महरू छन्, जुन फिल्म हालसम्म पनि रिलिज हुन सकेको छैन । फिल्म रिलिज नहुनुमा विभिन्न कारणहरू रहेका छन् ।

बलिउडका स्टार हस्तीकै फिल्महरू अहिले पनि स्थगित रहेका छन् । कहिले रिलिज होला वा नहोला अहिले पनि भन्न सकिने अवस्था छैन । बलिउडका अग्रज हस्ती बिग बी अमिताभ बच्चनको ‘सोबाइट’ फिल्म अहिले पनि रिलिज हुन सकेको छैन । सुजित सिरकारको निर्देशनमा बनेको उक्त फिल्म रिलिज गर्नका लागि अमिताभ बच्चनले ट्वीटरमार्फत् आग्रह गरेका छन् । जुन फिल्ममा अमितामले २ वर्ष छायांकनमा बिताएका थिए ।

सलमान खान र सञ्जय दत्त अहिले पनि बलिउडका उस्तै स्टारमा गनिन्छन् । सलमानको फिल्म अहिले पनि बक्स अफिसमा उत्तिकै चर्चा बटुल्ने गरेको छ । उनीहरू दुईले अभियन गरेको ‘दस’ फिल्म हालसम्म रिलिज हुन सकेको छैन । यसको ८० प्रतिशत छायांकन पूरा भएपछि यस फिल्मका निर्देशक मुकुल आनन्दको हर्टअट्याकका कारण मृत्यु भएको थियो । यो फिल्म सन् १९९७ मा छायांकन गरिएको थियो ।

यस्तै आमिर खान अभिनित फिल्म ‘टाइम मेसिन’ पनि हालसम्म रिलिज हुन सकेको छैन । हलिउड फिल्म ‘ब्याक टु दी फ्युचर’ बाट प्रेरित भएर बनाइएको थियो । जसमा आमिर, रबिना टण्डन, नसुरद्दिन साह, रेखाले अभियन गरेका थिए । शेखर कपुरको निर्देशनमा बनेको यो फिल्म पनि हालसम्म रिलिज हुन सकेको छैन । एक रिपोर्टका अनुसार आर्थिक अभावका कारण यो फिल्म पूरा हुन नसकेको बताइन्छ । यो फिल्म सन् २००८ मा बनिरहेको थियो । हालसम्म पनि यो फिल्म पूरा गर्ने विषयमा निर्देशक कपुरले नै पनि कुनै निर्णय लिएका छैनन् ।

प्रिती जिन्टा अभिनित फिल्म ‘तारा रम पम पम’ नामक फिल्म पनि अहिलेसम्म आउन सकेको छैन । यो फिल्म पनि शेखर कपुरले नै निर्देशन गर्ने बताइएको थियो । यो फिल्म ९० को दशकमै रिलिज गर्ने भनिएको थियो । जहाँ प्रितीले डेब्यु गर्न लागेकी थिइन् । उनले सन् २०१५ मा ट्वीट गर्दै लेखेकी थिइन्, ‘मैले ९० को दशकमै शेखर कपुरको निर्देशनमा बन्न लागेको तारा रम पम पम फिल्ममा साइन गरेको थिएँ, त्यो मेरो जीवनकै पहिलो फिल्म थियो ।’