धरान । इटहरी–९ स्थित ओसियन पार्क नजिकै प्रमोद मोटर्स ग्यारेजमा सामान्य आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीका अनुसार विद्युत् सर्ट भएर अचानक आगलागी हुँदा ग्यारेजमा राखिएका तीन वटा गाडीहरू जलेका हुन् । सञ्चालक रवीन्द्र खड्काले प्रहरीलाई १५ लाख रुपैयाँ क्षति भएको विषयमा विवरण टिपाएको डिएसपी भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार तीन वटा गाडीमध्ये दुई वटामा बढी क्षति भएको र एउटामा सामान्य क्षति भएको हो । घटना बिहीबार साँझ भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । सञ्चालकले ग्यारेजमा बनाउनका लागि राखिएको बा २ च ३८७८, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगलागी भएको जनाएको छ ।