धरान । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको ज्यान गएको छ ।

ठूलो आवाज विस्फोट भएपछि गाउँलेहरू हेर्न जाँदा बम विस्फोट भएर चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको पाइएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । घटनाबारे प्रहरीले पनि पुष्टि गरेको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–७ का १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री १३ वर्षीय गौरव नेपाली रहेको रोल्पा जिल्लाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी गुरुङले जानकारी दिए । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा चराएर फर्कने क्रममा भेट्टाएर खेलाउने क्रममा बम विस्फोट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।