धरान । बलिउडका निखिल अडवाणीले निर्देशन गरेको ‘डी–डे’ फिल्मको ‘रिल’ कथा बलिउड अभिनेता इरफान खान र ऋषि कपुरको बास्तविक जीवनमा पनि मेल खाएको छ ।

सन् २०१३ मा रिलिज भएको थ्रीलर सस्पेन्स फिल्ममा इरफान खान मरेको केही समयपछि ऋषि कपुर पनि मारिएका छन् । यो फिल्मको दृष्य हेर्दा दर्शकहरूलाई इरफानप्रति जति साहनुभूति छ, त्यति ऋषिमा छैन । किनकि ऋषि आतङ्वादी समूहको नेतृत्व गर्छन् । जसले भारतका थुप्रै राज्यहरूमा बम ब्लाष्ट गराउनका लागि भूमिका खेलेका छन् । त्यसको उनी नेतृत्वकर्ता हुन् ।

इरफान भारतको खुफिया एजेन्सीका एक कर्मचारी हुन् । जो पाकिस्तानकाे कराचीमा बसेर ऋषि कपुरलाई पक्राउ गर्नका लागि भूमिका खेल्छन् । ऋषिलाई जिउँदो नै भारत ल्याइने आदेश हुन्छ । सोहीअनुसार खुफिया एजेन्सीमा चार जनाले त्यसको जिम्मा पाएका हुन्छन् । जसमा अर्जुन रामपाल, हुमा खुरेसी त्यही एजेन्सीमा कार्यरत छन् ।

फिल्मको अन्ततिर ऋषिलाई पक्राउ गर्न सफल हुन्छन् । र, उनीहरू भारत ल्याउने कार्यमा खटिन्छन् । तर, त्यहीबेला फिल्ममा अचानक ट्वीस्ट आउँछ । त्यो ट्वीस्टका कारण नै इरफान मारिन्छन् । अन्ततः ऋषिलाई पनि भारतीय भूमिमा पु¥याइन्छ र मारिन्छ । उनीहरूको मृत्यु केही घण्टाको फरकमा मात्रै हुन्छ ।

सायद, बास्तविक जीवनमा पनि इरफानको नै पहिला निधन भएको छ । ठ्याक्कै रिल लाइफको झैं । बुधबार ५४ वर्षको उमेरमा इरफानको निधन भएको थियो । ऋषिको निधन केही घण्टापछि मात्रै भएको थियो । तर, यो फिल्मको एउटा संयोग बुधबार इरफान बिते भने ऋषि बिहीबार । समयको अन्तर हेर्ने हो भने लगभग २४ घण्टा । यही २४ घण्टामा दुई बलिउड हस्ती तथा भर्सटायल हिरोहरूको निधन भएको छ ।

दुवै बलिउड उद्योगमा हस्ती हुन् । दुवैको मृत्युमा देशविदेशका दर्शकहरू स्तब्ध बनेका छन् । डी–डे फिल्ममा इरफानप्रति दर्शकको साहनुभूति बढी नै थियो । तर, बास्तविक जीवनमा भने दुवै हस्तीप्रति दर्शकको साहनुभूति उत्तिकै छ । न त कम, न त बढी नै । फिल्मको क्लाइमेक्स नै यति सबल छ कि इरफानको मृत्युसँगै दर्शकले फिल्मबाट चरमोत्कर्ष प्राप्त गरेका छन् । जहाँ पाकिस्तानी खुफिया एजेन्सीका मान्छेहरू पनि स्तब्ध बनेका हुन्छन् । तर, जब ऋषिलाई पाउँदैनन्, तब उनीहरू पुनः खोजीमा निस्कन्छन् । तर, जब भारतको सीमा नाका कटाइसकिएको हुन्छ । त्यससँगै उत्कर्षको अन्त्य हुन्छ ।

d_day_film

ऋषि र इरफानको मृत्युलाई लिएर बलिउडका थुप्रै स्टारहरूले ‘गम्भीर शोकमा परेको’ भन्दै ट्वीट गरेका छन् । इस्टाग्रामभरि इरफान र ऋषिको तस्बिरले भरिएको छ । बिग बी अमिताभ बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘उनी रहेनन्, ऋषि कपुर रहेनन्, भर्खरै बिते...म स्तब्ध छु ।’ कांग्रेस नेता राहुल गान्धीले पनि ‘यो साता बलिउड फिल्म उद्योगमा अकल्पनीय दुखद् खबरहरू भएँ, दुई जना लेजेण्ड कलाकारहरूको निधनले स्तब्ध छु’ भन्दै ट्वीटरमा लेखेका छन् ।