धरान । बलिउड अभिनेता ऋषि कपुरसँग बुधबार दिवङ्गत अभिनेता इरफान खानसँग रिल लाइफमा गज्जबको अनुभव छ ।

त्यो के भने, डी–डे फिल्ममा ऋषि कपुर र इरफान ठीक विपरीत ध्रुवमा देखिएका छन् । भारतको खुफिया एजेन्सीमा काम गर्ने इरफान खुङ्खार डन ऋषिलाई भारत सकुसल ल्याउनका लागि पाकिस्तानमा खटिएका हुन्छन् । जसले भारतका थुप्रै क्षेत्रमा बम ब्लाष्ट गरेर सर्वसाधारणको हत्या गरेको हुन्छ । अातंकवादी भूमिकामा देखिएका ऋषिलाई लानका लागि खटिएका चारमध्येका इरफान अन्त्यमा ज्यान गुमाउन पुग्छन् ।

ऋषिलाई भने भारत ल्याइन्छ र मारिन्छ । हिन्दीको एउटा उखान ‘जैसी कर्नी, वैसी भर्नी’ झैं यो फिल्ममा इरफान र ऋषिको मृत्युसँग जोडिएको छ । यो फिल्मको चर्चा गरिरहँदा इरफानको वास्तविक जीवनमै मृत्यु भइसकेको छ । तर, ऋषि भने वास्तविक जीवनमा ठीकठाक छन् । यसो भनिरहँदा बुधबार नै उनको स्वास्थ्य खराब भएपछि उनलाई मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो केही समययता उनको स्वास्थ्य खराब बनेको थियो । अचानक स्वास्थ्य खराब भएपछि आनन–फानन अस्पतालमा भर्ना गरिएको थियो भने त्यहाँ ठीक हुने अवस्था नआएपछि रिलायन्स अस्पतालमा भर्ना गरिएको हो । उनको साथमा पत्नी नीतू सिंह छन् ।

ऋषिका भाइ रणधीर कपुरका अनुसार केही दिनदेखि स्वास्थ्यमा गडबडी देखिएको थियो । स्वास्वप्रश्वासमा समस्या भएका कारणले बुधबार अस्पताल भर्ना गरिएको हो । तर, उनले धेरै डराउनु पर्ने स्थिति नरहेको बताएका छन् । गत वर्षको सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालमा उनको क्यान्सरको उपचार गरिएको थियो । सन् २०१८ मा उनलाई क्यान्सर भएको थाहा भएको थियो । त्यसो त बुधबार नै इरफानको पनि निधन भएको छ । ५४ वर्षीय इरफानलाई पनि क्यान्सर नै लागेको थियो ।