धरान । तीन वर्षअघि गरेको सामाजिक सद्भाव खलबलिने ट्वीटका कारण गायक सोनु निगम अहिले पनि विवादमा तानिदै आएका छन् ।

सन् २०१७ मा उनले मुस्लिम समुदायप्रति लक्षित गर्दै गरेको ट्वीटका कारण उनी विवादमा तानिदै आएका हुन् । उनले ‘हरेक दिन बिहान मस्जीदमा ठूलो ध्वनिमा लगाइने धार्मिक प्रार्थनाले आफ्नो निद्रा भगाउने’ गरेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरेपछि उनी विवादमा तानिएका थिए । त्यही ट्वीट पुनः रिट्वीट भएपछि उनी थप विवादमा मुछिएका हुन् । उनको ट्वीटलाई ‘इस्लाम धर्मविरुद्धको ट्वीट’ को संज्ञा दिँदै तीव्र आलोचना भएको छ ।

सोही कारण उनले केही समय ट्वीटरमा आफ्नो पोष्टसमेत सार्वजनिक गरेका थिएनन् । फेरि यो साता फेरि ट्वीट भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् । तर, उनले आफूले कुनै पनि धर्मविरुद्धमा नगएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘म कुनै पनि धर्मको विरुद्धमा छैन ।’ उनले आफैँ पनि मन्दिर र गुरुद्वारहरूमा जाने गरेको बताएका छन् ।

उनले कुनै पनि धर्मविरुद्ध दुर्भाव नरहेको दाबी गरे । उनले विदेशी सञ्चारमाध्यमलाई दिएको एक अन्तरवार्तामा भनेका छन्, ‘म कुनै धर्मको विरोधमा छैन, म जवर्जस्ती धर्म प्रदर्शन गर्नेको विरुद्धमा छु । तपाईंको धर्म तपाईंको घरभित्र रहनुपर्छ ।’ उनले थप भने, ‘म ध्वनि प्रदूषणको विरुद्धमा हो । मलाई विवादास्पद ट्वीट गर्नु पनि छैन । तर, मान्छेले त्यसै विवादमा तानिदिन्छन् ।’ सरकारले पनि ध्वनि प्रदूषणलाई गलत मानेको छ ।