धरान । १७ वर्ष अगाडि भएको दोहोरो हत्या मुद्दामा पाकिस्तानको एक मिडियाले बलिउड स्टार आमिर खानको तस्बिर राखेर समाचार प्रकाशित गरेको छ ।

पाकिस्तानको अदालतले १७ वर्षपछि दोहोरो हत्या मुद्दामा पाकिस्तानको ‘एमक्यूएम’ पार्टीका नेता आमिर खानलाई निर्दोष सावित गरेको थियो । उक्त मुद्दामा नेता आमिरको तस्बिर देखाउनु पर्नेमा बलिउड स्टार आमिर खानको तस्बिर राखेर समाचार प्रकाशित गरिएको छ । पाकिस्तानको एउटा न्यूज च्यानलले बलिउड स्टार आमिरको तस्बिर राखेर भिडियो सार्वजनिक गरेको थियो । दोहोरो हत्या मुद्दाका आरोपित पाकिस्तानका ‘एमक्यूएम’ का नेता आमिरलाई चिनारी गराउनु पर्नेमा बलिउड स्टारको तस्बिर राखिएको थियो ।

यो घटनालाई चौतर्फी रूपमा आलोचना भएको छ । मिडियाप्रति सामाजिक सञ्जालमा आमिरका फ्यानहरूले तीव्र आलोचना गरेका छन् । एउटा मिडियाले ‘हत्यारा आरोपित र बलिउड स्टारलाई नचिनेको’ भन्दै टिप्पणी गरेका छन् । मिडियाले सार्वजनिक गरेको केही समयपछि नै सच्याए पनि उक्त कुरा सामाजिक सञ्जालहरूमा भाइरल बनिसकेको थियो ।

पाकिस्तानी पत्रकार नयला इनायतले बलिउड स्टार आमिर खानको तस्बिरको ‘स्क्रिनसट’ गर्दै ट्वीट गर्दै लेखेकी छन्, ‘१७ वर्षपछि अन्ततः पाकिस्तानी एमक्यूएमका लिडर आमिर खानलाई निर्दोष सावित गरेको छ । तर, पछिल्लो १७ वर्षमा पाकिस्तानी नागरिक कसैलाई थाहा छैन, बलिउड स्टार आमिर खानबारे...? उक्त स्क्रिन सटमा बलिउड स्टार आमिर खानको तस्बिर राखेर उर्दु भाषामा घटनाको विस्तृत विवरण लेखिएको पाइएको छ ।