धरान । विश्व बैंकले कोरोनाभाइरसका कारण दक्षिण एसियाली मुलुकको अर्थतन्त्र चार दशकयता कै कमजोर हुने प्रक्षेपण गरेको छ ।

नेपालसहित दक्षिण एसियाली मुलुकहरूको अर्थतन्त्रको वृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतसम्म मात्रै बढ्ने प्रक्षेपण गरेको हो । बैंकले अर्ध वार्षिक रूपमा सार्वजनिक गर्दै आएको प्रतिवेदनमा नेपालसहित दक्षिण एसियाली देशको आर्थिक वृद्धिदरको आँकलन सार्वजनिक गरेको हो । सन् २०२० मा २ दशमलव ८ प्रतिशतभन्दा माथि वृद्धिदर नहुने बताइएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको वृद्धि दर नेपाल सरकारले गरेको लक्ष्य भन्दा निकै कम हो । सरकारले यस वर्ष ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य लिएको थियो । ६ महिनाअघि विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा भने ७ प्रतिशतसम्म पुग्ने आँकलन गरेको थियो । कोरोनाका कारण विश्वको अर्थतन्त्र खस्किँदै गएको तथ्यहरू सार्वजनिक भइरहेका छन् ।