धरान । कोरोनाभाइरसका कारण भारतमा पनि मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । २८९ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ४५३ जनामा संक्रमित भएको पुष्टि भइसकेको छ ।

बलिउडका केही कलाकारहरूलाई पनि कोरोना भएको पुष्टि भइसकेको छ । गायिका कनिका कपुरको चौथो पटकको परीक्षणमा पनि संक्रमित भएको पुष्टि भएको थियो । अहिले भारत सरकारले लकडाउनलाई थप दुई साताको लागि बढाउने घोषणा गरिसकेको छ । यसअघि २१ दिनसम्म लकडाउन गरेको थियो ।

यसैबीच बलिउडका सेलिबे्रटीहरूले लकडाउनका बेला घरमै रहनका लागि सुझाव दिएका छन् । यसक्रममा बलिउडकी अभिनेत्री करिना कपुर खानले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट एक भिडियो सार्वजनिक गर्दै सबैलाई घरमै रहनका लागि आग्रह गरेकी छन् । सानी बच्चीले ‘प्ले कार्ड’ देखाएको भिडियोमा ‘घर पे रहो’ लेखिएको छ । जसलाई करिनाले सेयर गरेकी छन् ।

उनले भिडियो सेयर गर्दै लेखेकी छन्, ‘अब लकडाउन बढिसकेको अवस्थामा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हामी घरमै बसौं । यो समयमा सुरक्षित होऔं ।’