धरान । कोरोनाभाइरसबाट लड्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको ‘प्रधानमन्त्री नागरिक सहायता तथा आपत्कालीन राहत कोष’ मा बलिउड स्टार अक्षय कुमारले सहयोग गरेका छन् ।

अक्षय कुमारले ट्वीट गर्दै प्रधानमन्त्री राहत कोषका लागि आफूले २ सय ५० मिलियन भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उनले यो समय सबै सुरक्षित रहेर बस्नुपर्ने समेत बताएका छन् । प्रम मोदीले राहत कोषमा रकम जम्मा गरिदिनका लागि सबैलाई आह्वान गरेका थिए । सोहीअनुरूप अक्षय कुमारले रकम दिने घोषणा गरेका हुन् । उनले आइतबार ट्वीटमार्फत् यस्तो घोषणा गरेका हुन् । उनको घोषणासँगै उनलाई बलिउडका रियल स्टार रहेको भन्दै धेरैले धन्यवाद ज्ञापन गरेका छन् ।

त्यस्तै अर्का स्टार बरुण धवनले पनि राहत कोषमा ३ मिलियन भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । साउथ फिल्मका हिरो अल्लु अर्जुनले पनि १२ दशमलव ५ मिलियन भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । बलिउडका अर्का पुराना स्टार रजनिकान्तले पनि राहत कोषमा रकम दिने घोषणा गरेका हुन् । उनले ५ मिलियन रकम दिने घोषणा गरे । प्रभासले पनि ४० मिलियन भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।