धरान । कतार सरकारले दक्षिण एसियाको ५ देशसहित १५ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोनाभाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, र बङ्गलादेशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कतार सरकारका अधिकारीका अनुसार चीन, इरान, इजिप्ट, इराक, लेबनान, दक्षिण कोरिया, फिलिपिन्स, सिरिया र थाइल्याण्डसमेतका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कतार एयरवेजले यसअघि नै इटालीको फ्लाइट रद्द गरेको छ । सोमबार र मङ्गलबार दुई दिनसम्म स्कुल तथा कलेजसमेत बन्द गर्न आह्वान गरेको छ । कतारमा हालसम्म १५ जनामा कोरोनाको सङ्क्रमण भइसकेको छ । जसमध्ये हालै ३ जना नयाँ बिरामी फेला परेका छन् । कतारमा पहिलो पटक फेब्रुअरी ९ का दिन कोरोनाभाइरसबाट सङ्क्रमित रोगी फेला परेका थिए । उनी इरानी नागरिक रहेका थिए ।