धरान/ मार्च २४ मा रिलिजको तयारीमा रहेको अक्षय कुमारको ‘सूर्यवंशी’ पनि कोरोना भाइरसको प्रभावमा पर्ने सम्भावना बढेर गएको छ ।

तर, अहिलेसम्म निर्माण युनिटले रिलिज मिति सार्ने विषयमा आधिकारिक धारणा बाहिर ल्याएका छन् । यो बीचमा धेरै फिल्महरूको रिलिज मिति सारिएको छ ।

जेम्स बण्ड अभिनीत फिल्म पनि केही दिनअघि मात्रै सारिएको थियो । अक्षयको यो फिल्म पनि सार्ने अड्कलबाजी गरिन थालिएको छ । भारतमा पनि कोरोनाको प्रभाव बढ्दै गएकाले सार्ने सम्भावना बढेर गएको हो ।

भारतमा ३२ जनालाई कोरोना भाइरस लागिसकेको छ । दिल्ली, आग्रा, जयपुर, केरलालगायतका राज्यमा कोरोना भाइरसका रोगीहरू भेटिएका छन् ।

तीव्र प्रतीक्षारत रहेको रोहित सेठ्ठी निर्देशित फिल्मबारे अहिले नै थुप्रै अड्कलबाजीहरू गरिन थालिएका हुन् । निर्माण पक्ष यतिखेर तीव्र प्रचार–प्रसारमा जुटेको छ । यसले गर्दा फिल्मको रिलिज मिति नसारिनेमा दर्शकहरू एक हिसाबले ढुक्क बनेका छन् । निर्देशक रोहित सेठ्ठीले पनि फिल्मको रिलिज मिति अहिलेका लागि नसर्ने दाबी गरेका छन् ।

यो बीचमा शुक्रबार मात्रै बाघी–३ रिलिज गरिएको थियो । त्यही कारण पनि सूर्यवंशी पनि नसर्ने बताइन्छ । बाघी–३ ले उत्साहजनक दर्शकको साथ पाएको छ । फिल्म हलमा दर्शकहरूको उपस्थिति बाक्लो भएकाले कोरोनाको कुनै पनि प्रभाव देखिएको छैन । त्यही कारण पनि निर्देशक सेठ्ठी रिलिज गर्ने तयारीमा लागेका छन् । फिल्ममा अक्षयका अलावा अजय देवगन, रणवीर सिंह र कैटरिना कैफको मुख्य अभिनय रहेको छ ।