भण्टाबारी/ आज मार्च ८ तारिख अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । नेपालसहित विश्वभर नै आजको दिन विविध कार्यक्रमहरू गरी मनाउने गरिन्छ । वर्षभर खासै चासो र चर्चा नगरिने महिलाका हक अधिकारका बारेमा यसदिन भने जोडतोडका साथ भाषण र प्रतिबद्धताहरू गरिँदै आएका छन् । तर, के उनीहरूले प्रतिबद्धताअनुसार काम गरे त ?

काम गरे भने हिजोभन्दा आज महिलामाथि हुने हिंसामा कतिको कमी आयो ? हुन त यी र यस्ता जिज्ञासाका बारेमा सरकारी निकाय र महिला अधिकारका पक्षमा काम गर्ने विभिन्न संस्थाहरूले कागजी प्रतिवेदन प्रस्तुत गर्दै आएका छन् र आगामी दिनमा पनि गर्छन् नै । तर, महिलामाथि हुने हिंसामा सुनसरी जिल्लामा मात्र होइन, देशभर नै बढ्दो क्रममा रहेको छ । खासगरी तराई मधेसका जिल्लामा महिलामाथि हुने हिंसाको अवस्था हेर्दा लाग्छ, हिंसा न्यूनीकरण गर्न बहस भयो तर काम भएन ।’

महिला हिंसाका घटना देशभर हुने गरे पनि मधेसमा घरेलु हिंसा र दाइजो अपराध बढ्दो क्रममा रहेको अधिकारकर्मी बताउँछन् । तराई मधेसमा हुने अधिकांश घरेलु हिंसा दाइजोकै कारण हुने गरेको उनीहरूको बुझाइ छ । अधिकारकर्मी चुन्नी खातुन भन्छिन्, ‘घरेलु हिंसाको समस्या मधेसमा नयाँ होइन तर पछिल्लो समय घटेको जस्तो लागेपनि झनै बढेको छ ।

दाइजो लिने र दिने तरिका फेरिएका छन् उनले भनिन् । मधेसमा दाइजो लेनदेनको विषयमा हिंसा हुने गरेको प्रहरी तथ्याङ्कले समेत देखाउँछ । सुनसरी जिल्लासहित तराई मधेसका महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्त नहुँदा उनीहरूमाथि हिंसा हुने गरेको अधिकारकर्मीहरू बताउँछन् । त्यस्ता महिलाहरूमाथि परिवार र समाज हाबी हुने उनीहरूको कथन छ ।

सुनसरीमा महिलाको स्थिति
सुनसरी जिल्लामा विगत एक वर्षको अवधिमा ७ सय २२ वटा महिला हिंसासम्बन्धी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको महिला सेलका अनुसार पछिल्लो एक वर्षको अन्तरालमा ७ सय २२ वटा महिला हिंसासम्बन्धी मुद्दा परेकोमा ४ सय ८६ वटा सहमतिमा टुङ्गिएका छन् भने १६ वटा अदालत पठाइएको र २ सय २० वटा मुद्दामा निवेदक प्रहरीको सम्पर्कमा आएका छैनन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष महिलामाथि हुने हिंसामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

‘यो समस्या मधेसको मात्र होइन’ अधिकारकर्मी खातुन भन्छिन्, ‘तराई मधेसमा भएका घटनाको सङ्ख्या बढी देखिन्छ तर समग्र रूपमा महिलाहरूमाथि देशभरि नै हिंसा हुँदै आएको छ ।’ ‘कतै दाइजोको नाममा भने कतै बलात्कारका नाममा महिलाहरू पीडित भइरहेका छन्’–उनले थपिन् । महिलामाथि हुने हिंसा रोकथाम गर्न सरकारीसहित विभिन्न क्षेत्रबाट भएका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेकोे अधिकारकर्मी रमेश भट्टराईको भनाइ छ ।

तराई मधेससहित देशभर नै घरेलु हिंसापछि महिलाहरू यौन हिंसाको शिकार हुने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । घरेलु हिंसा र बलात्कार सम्बन्धमा प्रहरीमा उजुरी परे पनि दाइजोसम्बन्धी अपराधको भने न्यून मात्रामा उजुरी पर्ने गरेको छ । तराई मधेसको परम्परा र संस्कृति फरक भएको र त्यस भेगमा बसोबास गर्ने महिलाहरू आर्थिक र सामाजिक रूपमा कमजोर देखिएको हुँदा हिंसा बढेकोले महिलाको सशक्तीकरण आवश्यक रहेको अधिकारकर्मी खातुन बताउँछिन् ।