धरान (व्लाष्ट) पुर्वकै प्रतिष्ठित फुटवल प्रतियोगिता मानिएको अन्तराष्ट्रिय आमन्त्रण बुढासुव्वा टुवोर्ग गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दीले जितेको छ । धरान रंगशालामा शनिबार सम्पन्न बुढासुव्वा टुवोर्ग गोल्ड कपको २२ औं संस्करणको फाइनलमा पाच पटकको उपाधी विजेता नेपाल पुलिस क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्लीले उपाधी हात पार्न सफल भएको हो ।
तीन पटकको विजेता मनाङ् मस्र्याङ्दीकालागि यो जित चौथो उपाधी भएको छ । यो सिजनको भने पहिलो उपाधी हो । उपाधीसंगै मनाङ मस्र्याङ्दीले नगद १० लाख रुपैया, ट्रफि र मेडलसहित प्रमाणपत्र हात पारेको थियो । ६ औं, १३ औं र १८ औं संस्करणमा उसले उपाधीहात पारेको थियो । ७ संस्करणमा उपविजेता बनेको थियो । उपविजेता पुलिसले नगद ५ लाख रुपैयासहित दोश्रो ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाएको थियो ।
धरान फुटवल क्लवको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन, गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट खेलाडी घोषित मनाङ मस्र्याङ्दीका सुरज विकले होण्डाको डिइयो स्कूटी एकथान प्राप्त गरे । प्रतियोगिता अवधिभरमा सर्वाधिक ४ गोल गर्न सफल मनाङ मस्र्याङ्दीकै दयानन्द सिंले नगद ३५ हजार रुपैया हात पारे भने वेस्ट गोल अफ द डे घोषित मनाङ्का विमल रानाले नगद ५ हजार रुपैया पाए ।
खेलको म्यान अफ द म्याच मनाङ मस्र्याङ्दीका अन्जन विष्टले नगद नगद १५ हजार रुपैया हात पारे भने वेस्ट गोल किपर घोािषत मनाङ मस्र्याङ्दीकै अशोक बराल, वेस्ट डिफेन्स नेपाल पुलिसका पुजन उपर्कोटी, वेस्ट मिड फिल्डर मनाङ्का पुजन, वेस्ट फर्वार्ड पुलिसका जुमानु राई, वेस्ट कोच मनाङका फुजा टोपेले जनही नगद २५ हजार रुपैया प्राप्त गरे ।
मनाङ मस्र्याङ्दीले पहिलो खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई ४–० ले र दोश्रो खेलमा भारतको युनाइटेड कर्साङ फुटवल क्लवलाई सेमीफाइनलमा २–० ले पराजित गर्दै फाइनलमा पुलिस टोलीसंग भिडन्त गर्न आइपुगेको थियो ।
विभागीय पुलिस क्लवले पहिलो खेलमा झापाको काकडभिट्टा फुटवल टे«निङ सेन्टरलाई ३–१ गोलले र दोश्रो खेलमा लिग च्याम्पीयन मच्छिन्द्र फुटवल क्लवलाई सडन डेथमा पराजित गरेर मनाङ मस्र्याङ्दीको सामना गर्न आई पुगेको थियो ।
उपाधीकालागि मनाङ मस्र्याङ्दीका दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले गरे गरेका थिए । दयानन्द सिंहले पहिलो हाफको ११ औ मिनेटमा पुलिसका गोलरक्षकले गरेको गल्तीलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए । पुलिसको गोलरक्ष्ँक संजित श्रेष्ठले हातमा भएको बल पेनल्टी एरियामा राखेर टाइम पास गर्न खोज्दा अगाडिबाट आएर प्रहार गरेको बल गोलमा परिणत भएको थियो । दोस्रो हाफको ४९ औं मिनेटमा विमल रानाको पासमा निशान लिम्बुले सुन्दर गरेर २–० ले अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा बिमल रानाले गोल गरेका थिए ।
खेल अवधिभरमा मनाङ मस्र्याङ्दी विरुद्ध पुलिसले गोल फर्काउने लागतार प्रयास गरेपनि असफल भएका थिए । दोस्रो हाफको ६७ औ मिनेटमा मनाङ मस्र्याङ्दीका पुजन उपर्कोटीले हेण्ड गरेपछि भोला सिलवालले पाएको पेनाल्टी अवसरलाई गोल गरेका थिए ।
विजेता खेलाडीहरुलाई प्रदेश १ का मुख्य मन्त्री शेर धन राई, आयोजक धरान फुटवल क्लवका अध्यक्ष किशोर कुमार राई, प्रतियोगिताका संयोजक धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उप प्रमुख मन्जु भण्डारी सुवेदी एन्फाका अध्यक्ष कर्मा छिरिङ, मुख्य प्रयोजक गोर्खा ब्रुअरीका प्रतिनिधिलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

संचारकर्मी पुरस्कृत
बुढासुव्वा टुवोर्ग गोल्डकपको २२ औं संस्करणको खेल समाचार नियमित लेखेर पाठकहरुलाई सुसुचित गरेको भन्दै आयोजक धरान फुटवल क्लवले कान्तिपुरका सुनसरी संवाददाता प्रदीप मेन्याङ्बो र रेडियो धरानका शिशिर राईलाई पुरस्कृत गरेको थियो । समापन समारोहमा दुवै संचारर्कीलाई जनही नगद १० हजार रुपैया प्रदान गरिएको थियो । उनीहरुलाई मुख्य मन्त्री शेरधन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।