धरान । २२ औं बूढासुब्बा टुबोर्ग गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्बल सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोलले हराउँदै पुलिस सेमीमा प्रवेश गरेको हो । पुलिसले अब लिग लिडर मच्छिन्द्र एफसी र वेस्ट बंगाल कोलकत्ताको सन् डे फुटबल क्लबको विजेताबीच हुनेछ ।

प्रतियोगितामा जुमानु राईले दुई गोल गर्दा सुमन सुवेदीले १ गोल गरे । यता एकमात्रै गोल सञ्जय धिमालले गरे । खेलको म्यान अफ दी म्याच पुलिसका जुमानु राई घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । सुरुवाती अग्रता भने काँकडभिट्टाका सञ्जय धिमालले खेलको १० औं मिनेटमा गरे । तर, ४१ ऋौं मिनेटमा पुलिसका रक्षापंक्तिका खेलाडी सुमन सुवेदीले गोल गर्दै बराबरी ल्याए ।

खेलको ४३ औं मिनेटमा जुमानु राईले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरे । यता ७५ औं मिनेटमा पुनः जुमानु राईले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।