बिर्तामोड /  सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगको दोस्रो स्थान हासिल गर्न सफल त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
उपाधिका लागि मच्छिन्द्रले थ्रि स्टार क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रि स्टार फाइनल प्रवेश गरेको हो । थ्रि स्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो ।
झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले आर्मीविरुद्ध दुई गरेको थियो । खेलको सुरुवातदेखि नै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, खेलको ७४ औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोल किप्परबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल भएको थियो ।
यसअघि खेलको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोल किप्पर विवश चौधरीले पञ्च गरेर बचाएका थिए । २४ औँ मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पञ्च गरेर बचाए । २६ औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो । ३१ औँ मिनेटमा बिमल घर्ती मगरको प्रहार विफल भयो ।
त्यस्तै, खेलको पहिलो मिनेटमै आर्मीका जर्जप्रिन्स कार्कीको प्रहार बाहिरिएको थियो । नवौँ मिनेटमा सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोल किप्पर सूर्य अधिकारीले बचाएका थिए । २८ औँ मिनेटमा कार्कीकै फ्रिकिक प्रहार बार माथिबाट आकाशिएको थियो । खेलको ५७ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोल किपर अधिकारीले पञ्च गरेर बचाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।