वराहक्षेत्र / असुरक्षाको कारण देखाउँदै एक सातादेखि अनिश्चितकालीन बन्द भएको वराहक्षेत्रको चतरास्थित सप्तकोशी नदीमा सञ्चालित तीन वटा जेट बोर्टहरु भने संचालनमा आएका छन् । केही उच्छृखल स्थानिय युवाहरुले आफूहरूलाई कमिसन दिनुपर्ने, बुकिङ काउण्टर राख्न दिनुपर्ने र निःशुल्क यात्रा गर्न दिईनुपर्ने भन्दै जेटबोट सञ्चालकलाई डर, धम्की दिन थालेपछि,असुरक्षित भएको कारण जनाउँदै फागुन १ गतेदेखि बन्द थिए ।
यात्रुलाई असजिलो भएको कुरालाई ध्यानमा राखी केही जेटवोट संचालनमा आएको वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले बताए । तर संचालनका लागि सहज वातावरण बनाउन प्रदेश तथा स्थानीय सरकारले पहल नगरेको उनीहरुले गुनासो गरेका छन् । बराहक्षेत्र जलयातायात प्रालीले मात्र संचालनमा ल्याएको हो ।
जेटवोट चतरावाट वराहक्षेत्र मन्दिर क्षेत्र सम्म साविकको जस्तै निरन्तर चल्ने छ तर त्यस भन्दा माथि सिम्ले पुल लगायतको स्थानमा भने अति आवश्यक बिरामी, यात्रु मात्र लैजाने अध्यक्ष विमलमान श्रेष्ठले बताए ।
कोशीमा वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, वराहक्षेत्र मरिन एण्ड रिसोर्ट, सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले जेटबोट सञ्चालन गर्दै आएका छन् ।
“सात दिन भन्दा बढि बितिसक्यो तर प्रदेश र स्थानीय सरकारले वार्ताको कुनै पहल गरेको छैन् , यस विषयमा प्रदेश सरकार, स्थानिय निकाय जनप्रतिनिधि, सरोकारवाला, स्थानीय बुद्धिजीवीसँग छलफल गर्ने कुरा भईरहेको छ तर स्थान र मिति टुंगो लागेको छैन्” अध्यक्ष श्रेष्ठले बताए ।