राजविराज/ सप्तरीमा मुस्लिम धर्मावलम्बीहरूको सभा शुरु भएको छ । धार्मिक सभामा झण्डै २ लाख मुस्लिमले सहभागिता जनाएका छन् । सप्तरीको बोदे बर्साइन नगरपालिकामा शनिबारदेखि जाँजरस्थित खड््ग नदी किनारमा धार्मिक सभाको आयोजना गरिएको हो । धार्मिक सभामा नेपाल र भारतका मुस्लिमहरूको सहभागिता रहेको छ । शनिबारसम्म झण्डै २ लाखको सङ्ख्यामा उनीहरू भेला भइसकेका छन् भने अहिले पनि आउने क्रम जारी रहेको छ ।

सभास्थलमा तयार पारिएको टेण्टमा सहभागी अट्न नसकेपछि टेण्ट बाहिर पनि बसेका छन् । टेण्ट बाहिरसमेत नवाज पढेर उनीहरू धर्मसभामा सहभागी भएका छन् । सभास्थलमा महिला र बालबालिकालाई प्रवेश निषेध गरिएको छ । धार्मिकसभामा नेपाल र भारतका मुस्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा सञ्चालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको हो । सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बताए । पाकिस्तान, बङ्गलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो ।

मुस्लिम धर्मावलम्बीको धार्मिक सभामा औपचारिक रूपमा उद्घाटन र भाषण गर्ने काम गरिएको छैन । सिधै प्रवचनको कार्यक्रम गरिएको छ । धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेव आएका छन् । उनी नै मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।

साद साहेव जमात विश्वका अध्यक्षसमेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता रहेको छ । सभास्थलामा हजार बिघाभन्दा बढी जग्गामा टेण्ट, शौचालय निर्माण गरिएको छ । सभा स्थल आसपास एक लाखभन्दा बढी ठूला, मझौला तथा साना सवारीसाधन पार्किङ गरिएको छ ।

सवारीसाधन पार्किङ गराउनेदेखि व्यवस्थापन गराउन आयोजकले आफ्नै जनशक्तिलाई खटाएको छ । सभास्थलमा स्वास्थ्य शिविरका साथै खाने प्रबन्धको व्यवस्थासमेत मिलाइएको छ । कतिपय सहभागीहरूले आफै ग्यास सिलिण्डर, चुल्होसहितका आवश्यक सामग्री बोकेर ल्याएका छन् । उनीहरूलाई सुत्नका लागि सोही ठाउँमा छुट्टाछुट्टै टेण्ट निर्माण गरिएको छ ।

सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो सङ्ख्यामा परिचालन गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

मदिराजन्य सामग्री निषेध
मुस्लिम समुदायले धार्मिक सभा आयोजना गरेको बोदे बर्साइन नगरपालिकाले यस क्षेत्रमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सभा हुने समय तीन दिनसम्मकै लागि बोदेबर्साइन बजार तथा आसपासका क्षेत्रमा मदिरा बिक्री, वितरण र प्रयोगमा रोक लगाएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा व्यवसायीको दर्ता खारेज गरी कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।