धरान / प्रधानमन्त्री केपी ओलीले पानी जहाज नेपालमा ल्याउने उद्घोषसँगै प्रदेश १ स्थित सप्तकोशीमा निजी कम्पनिले चलाउदैं आएका पानी जहाज(बोट) हिजोदेखि बन्द भएका छन् ।
स्थानीयको अवरोध तथा व्यवसायीक असुरक्षा बढेको भन्दै जहाज संचालकहरुले सेवा बन्द गरेका हुन । ४ वटा कम्पनिले साना ठूला गरेर ७ वटा जेट बोटबाट चतराकाे कोशी पुलदेखि बराहक्षेत्र हुदैं भोजपुर र धनकुटाको संगमस्थल त्रिवेणी घाटसम्म सेवा दिदै आएका थिए ।
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीले सेवा दिदैं आएका थिए । हिडेर दिनभरी बाटो २० मिनेटमा तय गर्न सजिलो भएका बेला बोट बन्द भए पछि दैनिक ५/७ सय मान्छे प्रभावित भएका छन् ।
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका संचालक राजेन्द्र कार्कीका अनुसार पानी जहाज संचालनका लागि राज्यले कुनै कानुन नबनाएको र सुरक्षा नभएको बताएका छन् । कानुन नहुदा स्थानीयले दुःख दिने काम बढि भएको र व्यवसाय नै धरापमा परेकाले बन्द गर्नु परेको कार्कीले बताए । ‘स्थानीयले ज भन्यो त्यही गर्नु पर्ने। राती पनि सेवा दिनु पर्ने, नदिए धम्की दिने, भाडा बढि भयो भनेर नतिर्ने, हामी एकदमै असुरक्षित भयौं । विचौलियाहरुले दुख दिए । त्यही भएर बन्द गर्न बाध्य भयौं ।’–कार्कीले ब्लाष्टखवरसँग भने ।
बोट संचालन रोकिए पछि घुम्न आउने दैनिक २/३ सय आन्तरिक पर्यटकहरु प्रभावित भएका छन् । कामको सिलसिलामा भोजपुर, खोटाङ, धनकुटाको ग्रामिण भेगबाट तराई आउजाउ गर्ने स्थानीयहरु प्रभावित भएका छन् ।
स्थानीयको दादागिरी र सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म संचालन गर्न नसकिने बोट संचालकहरुले बताउदैं आएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरेर उनीहरुले प्रदेश १ सरकारलाईसमेत जानकारी गराएका छन् ।