धरान / बास्केटवल संघ सुनसरीले सुनसरीबाट अन्तर्राष्ट्रियस्तरमा बास्केवलमा योगदान दिने प्रशिक्षक तथा खेलाडीहरुलाई मंगलबार सम्मान गरेको छ ।
धरानमा एक कार्यक्रमको आयोजना गरि साग गेममा महिला बास्केटवल टिमबाट रजक पदक ल्याउन सफल टिमका प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय टिमकी महिला खेलाडी डा. आशा राईलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।
यस्तै साग गेमका अफिसियल रेफ्री शिशिर पोखरेल, सन् २०१० मा भारतको बैङ्लोरमा भएको अण्डर १८ बास्केटवल प्रतियोगितामा सहभागी राष्ट्रिय खेलाडी रवि वास्भोर, सन् २०१८ मा बंगलादेशमा भएको अण्डर १६ बास्केटवल प्रतियोगितामा सहभागी डिपो उच्च माविका विद्यार्थी बैभव योगीलाई समेत सम्मान गरिएको छ । उनीहरू पाँचै जना धरानका हुन ।

प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले उनीहरुलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा सभामुख भण्डारीले खेलकुदको शहर धरानलाई बास्केटवल खेलाडीहरुले पनि चिनाएको बताए । धरान खेलकुदमा नाम कमाएकाले प्रदेश सरकारले धरानमा खेलकुद ग्राम बनाउन ५ करोड बजेट नीति तथा कार्यक्रममै छुट्याएको जानकारी दिए ।
बास्केटल सुनसरीका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष सुरज लामाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा धरानमा बास्केटवल खेल शुरु गर्ने डिपोट माविका प्राचार्य राजकुमार राई, धरान बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतले बोलेका थिए ।