धरान । बूढासुब्बा गोल्डकपको २२ औं संस्करण फागुन १० देखि हुने भएको छ । २२ औं संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउने भएको छ ।

यो सिस्टम नेपालमै पहिलो पटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको हो । बूढासुब्बा आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी ८ वटा टिमहरु सहभागी बन्ने जानकारी दिएकाे हाे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बूढासुब्बालाई क श्रेणीमा राखेसँगै पुरस्कार राशि विजेताको हकमा एकैपटक २ लाख रुपैयाँ वृद्धि गर्दै १० लाख रुपैयाँ पुर्याएको छ ।

यसअघि विजेताको पुरस्कार राशि ८ लाख रुपैयाँ थियो भने उपविजेताको ४ लाख रुपैयाँ थियो । यसपटक उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने महासचिव प्रताप तामाङले जानकारी दिए । यसपटक एकै समयमा राष्ट्रियस्तरमा ३ वटा प्रतियोगिता भइरहेका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा हुँदै आएको खप्तड गोल्डकप, प्रदेश ५ को बुटबलमा हुँदै आएको तिलोत्तमा गोल्डकप पनि एकै समयमा हुन लागेकाले क्लबका लागि केही चुनौतीहरु थपिएको क्लबका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार एन्फाले सोहीअनुरुप क्लबहरुलाई विभाजन गरिदिएको छ ।

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याग्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, यूके एफसी, भारत, जापन फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब छन् । पत्रकार सम्मेलनको क्रममा टुबोर्ग बियरका प्रदेश १ इन्चार्जसमेत रहेका प्रदीप अधिकारीलाई सम्मानित गरिएको छ ।