सोलुखुम्बुको कालापत्थरमा आयोजना गरिएको ‘माउण्ट एभरेष्ट फेसन रन–वे’ नामको फेसन शोले विश्व कीर्तिमान कायम गरेको छ ।

कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले आइतबार गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको छ ।

समुद्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको फेसन शोमा आठ नेपाली, एक फिनल्याण्डकी, पाँच इटालीकी, एक श्रीलङ्काकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु रहेको पर्यटन बोर्डले जनाएको छ ।

कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली गत जनवरी १८ तारिखमा लुक्लाबाट कालापत्थरका लागि पैदल हिँडेको थियो । नेपाल सरकारका प्रतिनिधि र गिनिजबुक अफ वल्र्ड रेकर्डका अधिकारीसमेतले कार्यक्रममा सहभागिता जनाएका थिए । यस शोमा सबै प्राकृतिक, अग्र्यानिक र नेपालबाट उत्पादित फेसन सामग्री देखाइएको थियो ।