भोजपुर ।  जिल्ला सदरमुकाम स्थित देउराली चौकबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोध गरेको आरोपमा पक्राउ परेका तीन जना रिहाई भएका छन् ।

एमसीसीको विरोध गरेकोपछि पक्राउ परेका भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङ शुक्रबार रिहाई भएका हुन् । पक्राउ परेका उनिहरुलाई नेपाली काग्रेसका भोजपुर जिल्ला सभापती नन्दमणी राईको रोहवरमा छाडिएको हो ।

तीनै जनालाई बिहिबार देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रतिकार गरे पछि प्रहरी फर्किए पनि सोही राती उनीहरुलाई घरैमा सुतिरहेको बेला पक्राउ गरिएको थियो । स्थानीयले जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए ।

पक्राउ परेकाहरुले सदरमुकाम नजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर टाँगेर विरोध गरेका थिए । प्रहरीले भने पक्राउ परेकाहरुले प्रहरीलाई नै गाली गलौज र अभद्र व्यवहार गरे पछि नियन्त्रणमा लिईएको जनाएको छ ।

मादक पदार्थ सेवन गरि प्रर्दशनमा उत्रिएका उनिहरुले सडक समेत अवरोध गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवशीले बताए ।