विराटनगर/ उपभोक्ता समितिमार्फत् विराटनगर– १४ जतुवास्थित ग्राभेल गरिने सडक निर्माणमा गलत स्टिमेट देखाएर काम भएको स्थानीयले आरोप लगाएका छन् ।

उपभोक्ता समितिबाट निर्माण भइरहेको विराटनगर–१४ को सिरूवा ठाकुरको घरदेखि दक्षिण सरस्वती चौकदेखि पूर्व–उत्तर गोपाल यादवको घरसम्म जोड्न ७ सय मिटर ग्राभेल सडकको स्टिमेट गलत भएको स्थानीयले आरोप लगाएका हुन् ।

विराटनगर महानगरपालिकाबाट विनियोजन भएको २४ लाख र स्थानीय जनसहभागिताबाट २० प्रतिशत अर्थात् ६ लाख गरी जम्मा ३० लाख रुपैयाँमा सुशीलकुमार यादवको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति बनेर सडक निर्माण भइरहेको छ । गत कात्तिक १ गते यादवको अध्यक्षतामा उपभोक्ता समिति बनेको थियो । महानगरपालिकाले गत मङ्सिर १० गते योजना कार्यान्वयन सम्बन्धमा टिप्पणी आदेश दिएपछि चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा काम सक्ने गरी सडक निर्माण हुँदै आएको छ । वडा कार्यालयबाट विराटनगर महानगरपालिकाका सव–इञ्जिनियर भोला शर्मासहित उपभोक्ता समितिका अध्यक्ष यादवसहितले गरेको स्टिमेट गलत भएको स्थानीयको आरोप छ ।

महानगरपालिकालाई बुझाएको स्टिमेटअनुसार पक्की नाला निर्माण भएको ठाउँमा १ मिटरको खाल्टो र ५ मिटरको चौडाइ देखाइएको छ । उक्त खाल्टोमा माटो हाल्न ९ लाख ११ हजार ७ सय ६१ रुपैयाँ बजेट छुट्याइएको छ । करिब ७ सय मिटरको सडक–खण्ड अन्तर्गत कुनै पनि ठाउँमा ६ इञ्चभन्दा ठूलो खाल्टो छैन । जबकी प्राविधिकले ३३ इञ्च बढी माटो हाल्नुपर्ने स्टिमेटमा देखाएका छन् । त्यस्तै सडकको ‘साइट क्लियर’ गर्ने भन्दै बजेट छुट्याइएको भए पनि निर्माणाधीन सडकको छेउमा कुनै रुख, टहराहरू नरहेको स्थानीय बताउँछन् । ‘ग्राभेल सडक बनाउन गलत स्टिमेट देखाएर सबै मिलेर आधा खर्चमा काम सक्ने र आधा पैसा उपभोक्ता समिति, प्राविधिकदेखि सबै मिलेर खाने नियत देखियो’ नाम नबताउने शर्तमा विराटनगर–१४ का एक स्थानीयले भने, ‘ग्राभेल सडक निर्माण गर्न का लागि बनेको उपभोक्ता समितिमा पनि परिवारभित्रका आफन्त मात्र रहेका छन् ।’

विराटनगर–१४ मा दुईवटा योजना छनौटमा परेका छन् । अहिले ७ सय मिटरको ग्राभेल सडक निर्माण भइरहेको छ । अर्को गुलाइ यादवको घरदेखि दक्षिण रिङरोडसम्मको करिब ३ सय ५० मिटरको ग्राभेल सडक निर्माण गरिने योजनामा परेको छ । उक्त सडक २४ लाख ५० हजार रुपैयाँमा निर्माण गरिने प्राविधिकले स्टिमेट तयार गरेका छन् । अहिले सडक निर्माण गर्न उपभोक्ता समिति गठन भएको छ । उपभोक्ता समितिको अध्यक्षमा रमेशकुमार यादव रहेका छन् । योजना कार्यान्वयको टिप्पणी आदेश विराटनगर महानगरपालिकाले पठाएपछि निर्माण प्रराम्भ हुनेछ । उपभोक्ता समितिमार्फत् निर्माण भइरहेको र अब हुने यी दुवै योजनाको समितिमा विराटनगर–१४ का कार्यवाहक वडाध्यक्ष महिचन्द्र यादवका आफन्त रहेको पाइएको छ । ३० लाख लागतमा निर्माण भइरहेको सडक उपभोक्ता समितिको अध्यक्ष रहेका सुशील यादव कार्यवाहक वडाध्यक्ष महिचन्द्र यादवका मामाका छोरा हुन् ।

त्यस्तै गुलाइ यादवको घरदेखि निर्माण हुने ३ सय ५० मिटर सडकको उपभोक्ता समितिको सचिव चन्द्रशेखर यादव रहेका छन् । यो सडक निर्माणको अनुगमन समितिको संयोजकमा चन्द्रशेखरका आफ्नै बाबुलाई राखेका छन् । चन्द्रशेखरले आफूले बनाएको सडक हेर्न उनले बाबु गोपाल यादवलाई अनुगमन समितिको संयोजक बनाएका हुन् । सोही वडामा निर्माण भइरहेको उपभोक्ता समितिको सदस्यमा पनि चन्द्रशेखर रहेका छन् । जब कि एउटा उपभोक्ता समितिमा बसेका मान्छे अर्कामा बस्न नपाउने प्रावधान रहेको छ ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले वडाध्यक्षले सडक निर्माणमा उपभोक्ता समितिमार्फत् आफन्त राखेर काम गराउनु अख्तियारको दुरूपयोग भएको बताए । ‘यसमा विराटनगर महानगरपालिकाले छानबिन गर्नु पर्दछ’ उनले भने, ‘महानगरले प्रक्रिया अगाडि नबढाए हामी अख्तियारमा उजुरी गर्न जानेछौं ।’

विराटनगर महानगरपालिकाका सव–इञ्जिनियर भोला शर्माले निर्माणस्थलमा पुगेर स्टिमेट बनाएकोले गलत नभएको दाबी गरे । ‘फिल्डमा खटिएपछि स्टिमेट तयार भएको हो’ उनले भने, ‘प्राविधिकले बनाएको स्टिमेटलाई गलत भन्न मिल्दैन ।’ उपभोक्ता समितिका अध्यक्ष सुशील यादवले वडाभित्र घर र जग्गा–जमिन भएका व्यक्तिलाई उपभोक्ता समितिमा राखेको बताए । ‘जसको जग्गा र जमिन वडाभित्र रहेको छ, उनीहरूलाई नै उपभोक्ता समितिमा राखिएको छ’ उनले भने, ‘समिति बनाउने क्रममा आफन्त पनि परेका हुनसक्छन् ।’

गलत स्टिमेट गरी सडक बनाएको विषयमा उनले भने, ‘स्टिमेट प्राविधिक कुरा हो । महानगरपालिकाको इञ्जिनियरले बनाएको हामीले यस विषयमा केही भन्नु छैन ।’ ७ सय मिटर सडक निर्माण गर्ने योजना परेको भए पनि हामीले करिब २ सय मिटर थप गरी ९ सय मिटर सडक ग्राभेल गर्ने लक्ष्यअनुसार काम भइरहेको उनले बताए । विराटनगर–१४ का कार्यवाहक वडाध्यक्ष महिचन्द्र यादवले मापदण्डअनुसार सडक निर्माण भएको दाबी गरे । एउटा उपभोक्ता समितिमा रहेका व्यक्ति अर्को उपभोक्ता समितिमा पनि रहेको भए त्यस्ता व्यक्तिलाई हटाएर निर्माणको काम अगाडि बढाउने उनको भनाइ छ ।

यता विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एउटै व्यक्ति दुईवटा उपभोक्ता समितिमा बसेको भेटिए त्यस्ता उपभोक्ता समिति खारेज गर्ने बताए । ‘कसैले महानगरपालिकामा उजुरी हाले हामी प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने, ‘एउटा उपभोक्ता समितिमा बसेको व्यक्ति अरूमा बस्न मिल्दैन ।’

umabhakata-samati-