इटहरी/ विभिन्न कारण देखाउँदै इटहरी उपमहानगरपालिकाका इञ्जिनियरहरूले धमाधम राजीनामा दिँदा सेवाग्राहीलाई मर्का परेको छ । एकपछि अर्को गर्दै इञ्जिनियरहरूले राजीनामा दिएपछि सेवाग्राही मारमा परेका हुन् ।

एक हप्ताअगाडि इटहरी उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले राजीनामा दिए । उपमेयर लक्ष्मी गौतमले आफूलाई बारम्बार फोन र म्यासेजमा धम्की दिएकाले आफूले काम गर्न सक्ने अवस्था नभएको भन्दै उनले सामाजिक सञ्जालमै राजीनामा पत्र लेखेर राजीनामा दिएका हुन् ।

आफ्नो कार्य सम्पादनको विषयमा बारम्बार असन्तुष्टि राखेको र जति सम्झाउँदा पनि नभएकाले राजीनामा दिन बाध्य भएको उनको भनाइ छ । अर्जुन दाहालले आफूले गरेको काम उपप्रमुखलाई मन नपरेपछि राजीनामा बुझाएको बताएका छन् । तर उपप्रमुखलाई आरोप लगाउँदै दिएको निवेदन दर्ता नभएपछि पुनः राजीनामा पत्र उपमहानगरमा दर्ता गराएका हुन् ।

यता बिहीबार इटहरी उपमहानगरपालिका घर नक्सा शाखाका प्रमुख इञ्जिनियर विकास भट्टराईले पनि प्रमुख प्रशासकीय अधिकृतमार्फत् मौखिक र लिखित राजीनामा बुझाएका थिए । घरायसी काम देखाउँदै उनले राजीनामा दिएको उपमहानगरपालिकाका एक कर्मचारीले बताए । ‘विकास सरले पनि राजीनामा दिएपछि कार्यालयको काममा समस्या उत्पन्न भएको छ’ –ती कर्मचारीले भने ।

उपमहानगरपालिकामा कर्मचारीहरूलाई असहज एवम् नातागोता र पार्टी हाबी भएको भन्दै राजीनामा दिएको कर्मचारी स्रोत बताउँछ । ‘कार्यालयमा नातागोता हाबी भएको कारण अन्य इञ्जिनियरहरू पनि राजीनामा दिने तरखरमा छन्’–कर्मचारी स्रोतले भन्यो ।

‘पछिल्लो समय कर्मचारीहरूलाई कसैलाई काखा र कसैलाई पाखा लगाएपछि राजीनामाको लहर चलेको छ’–एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने । इटहरी उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईंले पनि इञ्जिनियर अर्जुन दाहालको राजीनामा–पत्र दर्ता भएको बताए । इञ्जिनियर विकास भट्टराईको राजीनामा भने अहिलेसम्म दर्ता नभएको बताए । ‘अर्जुन दाहालको राजीनामा इटहरीबाट पास नहुने रहेछ, हामी प्रदेश कार्यालयमा पठाउँदै छौं’ –उनले भने ।

कर्मचारी अभाव हुँदा उपमहानगरपालिकामा समस्या भइरहेको चापागाईंको भनाइ छ । ‘इञ्जिनियर तथा कर्मचारी कम हुँदा समस्या भएको छ’ –उनले भने । लामो समयदेखि कर्मचारी अभावको कारण सेवाग्राहीको मागअनुसार काम गर्न नसकिएको उनको भनाइ थियो ।