भद्रपुर / अर्थ मन्त्री डा.युवराज खतिवडाले अबको शिक्षा वैज्ञानिक, प्राविधिक र व्यवसायिकतर्फ जोडिने गरी शिक्षा ऐन तयारीको चरणमा रहेको बताएका छन् ।
झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको प्रशासकीय भवनको उद्घाटन तथा महिला छात्रावास र मानविकी भवनको शिलान्यासपश्चात् मन्त्री खतिवडाले यस्तो बताएका हुन् । पूर्व विद्यार्थीसमेत रहेका खतिवडाले अबको शिक्षा उपार्जन हुनेखालको हुने भएकोले प्राविधिक धारको हुन जरुरी रहेको औँल्याएका थिए ।

नेपालको शैक्षिक गुणस्तर सुधारका लागि सबै एकजुट हुनु जरुरी रहेको धारणा राखेका थिए । विशेषगरी कक्षा ९ देखि १२ सम्म प्राविधिक र वैज्ञानिक शिक्षाको लागि गृहकार्य जारी रहेको जनाएका थिए । देशको अवस्था र अर्थतन्त्रलाई विचार गरेर मात्र नयाँ संरचनाको शिलान्यासमा जाने गरेको उल्लेख गरे । एक सयमा १७ जना अझै गरिबीको रेखामुनी रहेकोले उनीहरूलाई माथि उठाउन जरुरी रहेको बताएका थिए । सरकार बनेको डेढ वर्षमा वित्तीय व्यवस्थापन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेका थिए ।

आर्थिक वृद्धि तीव्र गतिमा अगाडि बढिरहेकोले सन् २०२२ भित्र गरिबीको रेखामुनी रहेका १७ प्रतिशत नागरिकको आर्थिक वृद्धि शतप्रतिशत बढेर सापेक्षतामा पुग्ने गरी आर्थिक वृद्धिको गति तीव्र भएको उल्लेख गरे । डा. खतिवडाले विश्वका १० तीव्र आर्थिक वृद्धि हुने देशभित्र नेपाल पर्न सफल भएको दाबी गर्दै समृद्धिको यात्रामा देश लागिसकेको प्रष्ट पारेका थिए । त्यसैगरीे नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिले दान गरेको क्याम्पसको जग्गा सदुपयोग हुनु जरुरी रहेको बताए ।

उनले अर्को एक प्रसङ्गमा तत्कालीन एमाले, काङ्ग्रेस, फोरम नेपालका नेताले संयुक्तरूपमा शिलान्यास गरेको प्रदेश १ कै ठूलो स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति सभाहलको निर्माण रोकिएकोमा अर्थमन्त्रीसँग कारण माग गरेका थिए ।

यसैबीच भद्रपुर ८ नम्बर वडा कार्यालयले दक्षिणी झापाको गौरवका रूपमा रहेको चन्द्रगढी विमानस्थल सार्न भूमाफियाले चलखेल गरेको भन्दै अर्थमन्त्री डा. खतिवडालाई ज्ञापन–पत्र बुझाएका छन् । वडाध्यक्ष गौरव सुब्बा मनोजको नेतृत्वमा गएको टोलीले डा. खतिवडालाई दक्षिणी झापाको समृद्धि खोस्न सय बिगाहा जमिनको हल्ला मच्चाएर माफियाको चलखेल भएकोले अविलम्ब रोक्न माग गरी ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्र बुझेपछि मन्त्री खतिवडाले विमानस्थल सार्न खोज्ने माफिया बारे अध्ययन गरेर कारबाही प्रक्रियामा लगिने वचन दिएका छन् ।