बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेद्वारको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाइँको नेतृत्वमा प्रगतिशील प्यानलका उम्मेद्वार सार्वजनिक भएको हो । बिर्तामोड खानेपानीको मङ्सिर २५ गते निर्वाचन हुने भएको छ ।
प्रगतिशील प्यानलले उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जन बहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमल पौडेलको नाम सार्वजनिक गरेको छ । यस्तै सदस्यहरुमा पुरुष तर्फ शंकरराज ढुङ्गेल, श्रीप्रसाद सिटौला, महिला सदस्यमा सिता सापकोटा र हिमादेवी प्रसाई उम्मेद्वार बनेका छन् । प्रगतिशील प्यानलले पत्रकार सम्मेलन गरेर उनीहरुको नाम सार्वजनिक गरेको हो ।
प्रगतिशील प्यानलले बिर्तामोडबासीलाई सुरक्षित पानीको पहुँचमा पुर्याउने बताएको छ । २४ घण्टा नै सुरक्षित पानी उपलब्ध गराउने, उपभोक्तालाई पानी महसुलमा सहुलियत दिने लगायतका उपभोक्ता हितको पक्षमा बिभिन्न योजना अघि सार्दै उम्मेद्धारी दिने निर्णय गरेको जनाइएको छ ।
स्थापनाकालदेखि नै नेपाली कांग्रेस निकटको नेतृत्व रहेको बिर्तामोड खानेपानीमा प्रगतिशिल प्यानलले पहिलो पटक सम्पुर्ण पदमा उम्मेद्धारी दिने भएको छ । यसअघि टोरुप प्रसाँई र जल कुमार गुरुङले बिर्तामोड खानेपानीमा नेतृत्व गरेका थिए ।
दुबैजना नेपाली कांग्रेस निकटका हुन् । गुरुङ अध्यक्ष रहेको समितिले बिधान बमोजिम निर्वाचन गर्न नसकेपछि सर्बपक्षीय सहमतिमा अर्काे समिति गठन भएको छ । सो समितिले निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बिधानले तोकेको समय गुजारेर अबैधानिक भएको कार्यसमितिका व्यक्ति फेरि निर्वाचनमा आएभने तिनलाई उपभोक्ताले अस्विकार गर्ने प्रगतिशिल प्यानलको दावी छ । प्रगतिशील प्यानलका अध्यक्षका उम्मेद्वार प्रसाईले वैकल्पिक उर्जाको प्रयोगबाट बिर्तामोडमा पानी वितरण गरी उपभोक्तालाई ५० प्रतिशत महसुलमा समेत छुट दिने उद्घोष गरेका छन् ।