बलिउड सुपरस्टार अमिताभ बच्चनले स्वास्थ्य अवस्थाको कारण फिल्म क्षेत्रबाट ‘रिटाएर’ हुने सङ्केत दिएका छन् । उनले ब्लगमार्फत् फिल्म क्षेत्रबाट ‘रिटाएर’ हुने सङ्केत गरेका हुन् ।

अमिताभले ब्लगमा लेखेका छन्, ‘म अब रिटाएर हुनुपर्छ । दिमागले अर्कै सोचिरहेको छ भने औँलाले अर्कै, यो सब इशारा नै हो ।’
त्यसो त अमिताभ केही समयअघि इन्फेक्सनको कारण अस्पताल भर्ना भएका थिए । केही दिन आराम गरेर फेरि अमिताभले भारतीय चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ सिजन ११ को सुटिङ थालेका थिए ।

‘कौन बनेगा करोडपति’ बाहेक उनी फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङमा पनि व्यस्त छन् । ‘ब्रह्मास्त्र’ मा अमिताभसँगै रणवीर कपूर र आलिया भट्ट मुख्य भूमिकामा छन् । सन् १९६९ को फिल्म ‘सात हिन्दुस्तानी’ बाट बलिउड प्रवेश गरेका अमिताभले यसअघि सन् १९८४ देखि १९८७ सम्म तीन वर्ष बलिउडबाट ब्रेक लिएका थिए ।

त्यतिबेला उनी आफ्नो साथी राजीव गान्धीको समर्थनमा राजनीतिमा उत्रेका थिए । तीन वर्षको अन्तरालपछि उनले फिल्म ‘शहिंशाह’ बाट बलिउडमा धमाकेदार कमब्याक गरेका थिए । त्यसपछि उनी लगातार फिल्म क्षेत्रमा सक्रिय रहे ।

सन् १९९२ मा फिल्म ‘खुदा गवाह’ रिलिज भएपछि अमिताभ फेरि बलिउडबाट पाँच वर्ष हराए । तर बीचमा १९९४ मा उनी अभिनित फिल्म ‘इन्सानियत’ रिलिज भयो । जसको सुटिङ उनले पहिला नै गरिसकेका थिए ।

तर त्यो फिल्म व्यापारिक रूपमा सफल भएन । त्यसको पाँच वर्षपछि अमिताभ स्टारर फिल्म ‘मोहब्बतेँ’ रिलिज भयो । ‘मोहब्बतेँ’ पछि अमिताभ बलिउडमा निरन्तर सक्रिय छन् । त्यसो त अभिताभ बच्चनले बलिउडमा राज गरेको झण्डै ५० वर्ष पूरा भइसक्यो ।