धरान/ नब्बेको दशकको चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको साङ्गीतिक यात्रापछि अहिले साङ्गीतिक यात्रामा पुनरागमनका क्रममा छ ।

गतवर्षको धरान, दमक, बिर्तामोड र बुटवलको सफल साङ्गीतिक टुरपछि हौसिएको लोक पप ब्याण्ड कन्दराले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुरानासँगै नयाँ गीतहरू ल्याएर दर्शक–श्रोताहरूको उत्तिकै माया पाइरहेको छ ।

नयाँपुस्तामाझ पनि कन्सर्ट, सोसल मिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्याण्डले पुराना चर्चित गीतहरू ‘तिमी पारि त्यो गाउँमा’ र ‘लेककी हे माया’ कृपा अनप्लग्डको नयाँ शृङ्खलामार्फत् युट्युबमा भर्खरै रिलिज गरिएको छ । ९० को दशकमा चर्चित यी दुई गीत कन्दरा को क्यारियरकै उत्कृष्ट गीत मानिन्छन् ।

रिलिजको ३ र ४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्ससँगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो एल्बम् निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक विवेक श्रेष्ठ बताउँछन् ।

नेपालमा लाइभ साङ्गीतिक प्रस्तुतिलाई अर्कै उचाइमा लैजान कृपा अनप्लग्डको विशेष भूमिका छ । जसको कारण यही कार्यक्रमको लागि ब्याण्डका गायक विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आई ब्याण्डसँग प्रत्यक्ष प्रस्तुत भएका थिए । विगत २७ वर्षदेखि कन्दरा नेपाली सङ्गीतमा अनवरत लागिरहेको छ ।

नेपाली सङ्गीतमा विशुद्ध र सरल शब्द, सङ्गीत र स्वरको सम्मीश्रण गर्ने कन्दरा ब्याण्ड चाँडै नै देशव्यापी साङ्गीतिक टुरको तयारीमा समेत रहेको छ । कन्दराको हङ्कङ पोखरा, तगारोमा रुमाल राखी, चञ्चले कान्छी, डाँडापारि, विदेशिएर गइन् उनी, फुल्चोकीको डाँडैमालगायतका गीतहरू पनि चर्चित छन् ।