धरान । धरान–५ ठिङ्गाबारीमा बम झैं ठूलो आवाजमा विस्फोटक पदार्थ पड्किएको छ ।

तर, बम हो, या पटाका हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बारुदलगायत केही त्यस्तो गन्ध आउने वस्तु फेला नपरेकाले अज्ञात समूहले ४–५ वटा पटाका एकै स्थानमा पड्काएको हुनसक्ने बताए । ‘पड्किएको क्षेत्रमा टुक्राहरू पनि भेटिएका छैनन्, बारुदको गन्ध पनि आएको पाइएन’ उनले भने, ‘कसैले पटाका पड्काएको हुनसक्छ ।’ उनले पड्किएको क्षेत्रमा अनुसन्धान जारी रहेको बताए ।

स्थानीय सन्ताेस (बाेलाउने नाम केशब) चौहानको गाईलाई पानी खुवाउने डुँड नजिकै बिस्फाेट हुँदा तल्लो पट्टि रहेको हीरा चौहानको घरको सीसा फुटेको स्थानीयले जानकारी दिए । उनका अनुसार सामान्य क्षति भएको छ । उनले बम नै भएकाे दाबी गरेका छन् । घटना भएकाे स्थानबाट उनकाे घरकाे दूरी करिब २ सय मिटर मुनी छ । उनले आफ्नाे घरसम्म पनि ठूलाे आवाज आएपछि घटनास्थल आएकाे बताए । घटनास्थल नजिक प्रहरीले जान नदिएकाले यसै भन्न सकिने अवस्था नभएको उनले नाम नछाप्ने सर्तमा बताए ।