भद्रपुर । छठ पूजाको किनमेल गर्न सीमावर्ती भारतीय बजारमा गएका एक नेपाली युवकको मोटरसाइकल चोरी भएको छ ।
भद्रपुर नगरपालिका–५ का घनश्याम कसेराको नाममा रहेको मे.४ प ३३८१ नम्बरको हिरो होण्डा कम्पनीको कालो रङको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको छ ।
पीडित कसेराका अनुसार बिहीबार बेलुका साढे ५ बजे नवीन गुप्ता उक्त मोटरसाइकल चढेर भारतको बिहारस्थित किसनगञ्ज जिल्लाको गलगलिया बजार किनमेलका लागि गएका थिए । गलगलियाको बीच बजारमै पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको उनले बताए । मोटरसाइकल चोरी भएको हो–हल्ला भएपछि नवीन गुप्ताले गलगलिया थानामा उजुरी दिएका छन् ।
भारतीय प्रहरी मोटरसाइकलको खोजी कार्यमा जुटे पनि अहिलेसम्म फेला परेको छैन । यता भारतमा मोटरसाइकल चोरी भएको विषयमा पीडितले वडा प्रहरी कार्यालय भद्रपुरलाई पनि जानकारी गराएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए । भारतीय बजारबाटै नेपाली युवकको मोटरसाइकल चोरी भएपछि भारतीय प्रहरीको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ ।































