धरान/ ‘साढे ६ बजे फोन गरेर छोरी जीना तामाङ राईले म घर आउँछु भनी, त्यो भनेको केही समय नबित्दै ज्वाइँ भनाउँदोले छोरीको हत्या गरेछ’–भावुक बनेकी आमा उषा तामाङले भनिन् ।

बुधबार अपरान्हको साढे ४ बजेमात्रै माइती (धरान–५, देउराली) बाट ज्वाइँ अर्जुन राईसँग फर्किएकी जीना तामाङ राईको उनै ज्वाइँले तीन घण्टा नबित्दै हत्या गरे । ३१ वर्षीय राई नै २४ वर्षीया श्रीमती जीनालाई लिन ससुराली पुगेका थिए । पारिवारिक खट्पटका कारण भदौ अन्तिमतिरै अर्जुनलाई छाडेर माइती बसेकी जीनालाई ‘आइन्दा त्यस्तो नहुने’ भन्दै फकाएर घर ल्याएको आमा उषा तामाङ बताउँछिन् । उनीहरूबीचको सम्बन्धको कथा भने बेग्लै छ ।

स्कुल पढ्दापढ्दै अर्जुन र जीनाबीच मन परापर भयो । ‘सँगै जीउने, सँगै मर्ने’ कसम खाँदै २०६९ सालमा विवाह गरे । घरकी कान्छी छोरी जीना अर्जुनको प्रेमलाई सहर्ष स्वीकार्दै धरान–१५ खोरियाबस्तीमा रहेको अर्जुनको घरमा आइपुगिन् । सामान्य परिवारका अर्जुन दैनिक ज्याला मजदुरी गरेर भरणपोषण गर्थे । विहे गरेको एक वर्षभित्रै एक छोरी जन्मिइन् । अर्जुन लामो समयदेखि मादक पदार्थ सेवनसँगसँगै लागूऔषध दुव्र्यसनमा फसेका थिए । त्यही लागूऔषध दुव्र्यसनकै कारण घरझगडा शुरु भएको थियो ।

शुरु–शुरुमा सामान्य विवाद हुने उनीहरूबीचको झगडाले विस्तारै ठूलै रूप लिन थालेको स्थानीय बताउँछन् । तर, त्यो पीडा जीनाले न त परिवारलाई नै भन्छिन्, न त आफ्ना दिदीबहिनीहरूलाई नै । ‘हिजैमात्र बस्न सक्दिनँ भनेर छोरीले भनेकी थिई’ आमा उषा भन्छिन्, ‘त्योभन्दा अगाडि सामान्य विवाद हुन्थ्यो, माइती आउँथिन्, जान्थिन् ।’ ज्वाइँ कुलतमा फसेकोबारे आमा उषा पनि घटना हुनुपूर्वसम्म अनभिज्ञ थिइन् । ‘किनकी यो विषय मलाई थाहै थिएन’ उनी भन्छिन्, ‘छोरीले पनि भन्दिनथी ।’

जीनाकोे दुःखद् अन्त्य हुनुअघि उनले आमा उषालाई फोन गरेर माइती फर्किने कुरा गरेकी थिइन् । तर, आमाले फर्की पनि भन्न सकिनन् । ‘भर्खरै गएकी छोरीलाई कता फर्की भन्नु ?’ दुःखित बनेकी उनी भन्छिन्, ‘ठूलै घटना घट्ने सङ्केत छोरीले पाएकी रहिछन् क्यार !’ केही स्थानीयका अनुसार जीनाले अर्जुनलाई ‘डिभोर्स’ दिने चर्चा पनि गाउँमा नचलेको होइन ।

तर, त्यसबारे पनि आफूहरूलाई केही पनि थाहा नभएको परिवारका सदस्य बताउँछन् । जेठी दिदी गङ्गा तामाङका अनुसार बहिनी जीनाले उनलाई पनि फोन गरेकी थिइन् । ‘ज्वाइँ लिन जानुभो भनेर सोधेको थिएँ, हो भनिन्, मिलेर बस्नू भनेर मैले पनि सल्लाह दिएको थिएँ’–उनले भनिन् । तर, कहिल्यै पनि ज्वाइँको विषयमा गलत कुरा भने नभनेको उनी बताउँछिन् । घरायसी विवाद हुने कारण भने लागूऔषध रहेछ भन्ने बल्ल आफूहरूलाई थाहा भएको उनी बताउँछिन् ।

यता प्रहरीले पनि घरायसी विवादकै कारण हत्या गरेको दाबी गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घरायसी मनमुटावकै कारणले ज्यान लिएको देखिन्छ । जीनालाई धरान–१५ खोरियाबस्ती र धरान–५ तल्लो देउराली जोड्ने निर्माणाधीन पुल नजिकै ढुङ्गा प्रहार गरेर बुधबार साँझ पौने ७ बजेतिर हत्या गरेका थिए । हत्यापछि फरार रहेका राईलाई इप्रका धरानकै टोलीले पानमारा जाने सेउती पुलमा लुकिछिपी बसेको अवस्थामा ११ बजेर २५ मिनेटमा पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । राईलाई बिहीबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए ।