भद्रपुर/ वर्षेनी जङ्गली हात्तीले झापामा जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ । नियन्त्रणका लागि दीर्घकालीन ठोस योजना तथा नीति पारित नहुँदा आएको बजेट उपलब्धिमूलक नभएको पाइएको हो । हात्तीको आक्रमणबाट झापामा आठ वर्षमा ४० जनाले ज्यान गुमाइसकेका छन् । जसमा ४ जना भुटानी शरणार्थी बेलडाँगी दमकका रहेका छन् । वर्षेनी २ करोड बढी धनजनको क्षति हुदै आएको छ । यस्तै ११ वटा हात्ती मान्छेका कारण मरेका छन् । २०६२ साल यता ०७६ असार सम्मकोे तथ्याङ्कले यस्तो देखाएको छ । झापामा ८ ओटा हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०६८/०६९मा हात्तीको आक्रमणबाट ९ जनाले ज्यान गुमाएका थिए । सो वर्ष २३ जना पीडितगरी १८ लाख ३० हजार १ सय ६० रुपैयाँ राहत वितरण गरिएको थियो । त्यसैगरी हात्तीको आक्रमणबाट ०६९/७० मा ८ जनाले ज्यान गुमाएका थिए । सो वर्ष गाइ गोठ अन्नबाली र घाइते गरी ७८ जना पीडितलाई राहत स्वरूप २५ लाख ४ हजार २ सय २२ रुपैयाँ वितरण गरिएको थियो । त्यस्तै ०७०/७१ मा ३ जनाले अकालमा ज्यान गुमाएका थिए । भने अन्य भौतिक क्षति गरी ८१ जना प्रवावित भएका थिए । सरकारले उनीहरूलाई १८ लाख ५३ हजार ७ सय रुपैयाँ बराबरको राहत रकम प्रदान गरेको थियो । त्यसैगरी ०७१/७२ मा १ जनाको ज्यान गएको थियो भने अन्य क्षतिमा २ सय ८४ गरी ३७ लाख ४ हजार ९ सय २७ राहत रकम वितरण गरिएको थियो ।
०७२÷७३ मा ४ जनाको मृत्यु भएको थियो भने ९ सय १९ परिवार पीडित बनेका थिए । सो वर्ष ९५ लाख ९६ हजार २ सय १० रुपैयाँ पीडितलाई वितरण गरिएको थियो । त्यसैगरी ०७३/७४ मा ५ जनाले ज्यान गुमाएका थिए । हात्तीका कारण ७३ परिवारमा क्षति पुगेको थियो । सो वर्षमा ३९ लाख ९४ हजार २ सय ५ रुपैयाँ राहत वितरण गरिएको थियो । त्यस्तै ०७४/७५ मा ५ जनाको मृत्यु भएको थियो भने पीडित बनेका १० परिवारलाई ८० लाख ८९ हजार १ सय ९० रुपैयाँ राहत पाएका थिए । आर्थिक वर्ष ०७५/७६ मा हात्तीका कारण १ जनाको ज्यान गएको पाइएको छ भने अन्य क्षति भने ५ सय ४६ परिवारमा पु¥याएको छ । सरकारले सो वर्षमा ६५ लाख १४ हजार २ सय ३१ रुपैया बराबरको राहत रकम वितरण गरेका थियो । मानिसको भने रकम आइनपुगेको जनाइएको छ ।
यता चालू आर्थिक वर्षको असोज २७ सम्म हात्तीबाट मानिसको ज्यान नगए पनि अन्य क्षति भने बढेर गएको छ । चालू महिनाको २७ गते सम्म एक सय १० जनाको निवेदन परेकोमा ४३ जनाको राहतका लागि कोशी टापु वन्यजन्तु आरक्ष सुनसरी पठाइसकिएको हात्ती पीडित राहत शाखाका कर्मचारी डिल्लीराम खरेलले बताए । ०७५ पुस २५ देखि ०७६ भदौ २२ सम्म ४ सय ६६ जनाको राहत पठाइसकेकोले तिहारपछि रकम आउने उनले जानकारी दिए ।
२०४१ सालपछि झापाको प्रमुख समस्या बन्दै गएको हात्ती(मानव द्वन्द्व नियन्त्रणको पटक पटक गरिएको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । यसको व्यवस्थापन हुन नसक्दा जनधनको क्षति र हात्ती मारिने क्रम रोकिएको छैन । वन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार हात्तीका कारण बढी क्षति हुने स्थानहरूमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी शान्तिनगर, बुधबारे, बाहुनडाँगी, खुदुनाबारीका स्थानहरू रहेका छन् । आर्थिक वर्ष २०७० । ०७१ सम्म बाहुनडाँगीमा हात्तीको उपद्रो धेरै थियो ।
कुनैबेला हात्ती आतङ्कको क्षेत्र भनेर चिनिने बाहुनडाँगीको कथा पछिल्लो समय दक्षिणी क्षेत्रमा सरेको हो । यसको प्रमुख कारण बाहुनडाँगी छोएर बग्ने मेची नदीको किनारमा निर्माण गरिएको १८ किलोमिटर लामो विद्युतीय तारबार भएको स्थानीयको बुझाइ छ । हात्ती नियान्त्रणका प्रकृति संरक्षण कोषबाट झापाको जलथल हुँदै मागुरमाडी सम्म १ सय ४५ किलो मिटर क्षेत्रमा जैविक मार्ग सोलार फेनसिङका लागि काम शुरु भइसकेको डिभिजन प्रमुख विष्णुलाल घिमिरेले बताए । पहिलो चरणमा ३७ किलोमिटरका लागि ६ करोडमा ठेक्का लागि २५ किलोमिटरमा काम सम्पन्न भइसकेको र बाँकी आउँदो कात्तिक मसान्तसम्ममा सम्पन हुने गरी ठेक्का सम्झौता भएको उनले जनाए । हात्ती नियन्त्रणका लागि आवश्यक स्रोत साधन नभएकोले मानव र बस्ती सुरक्षित हुन नसकेको भनाइ छ ।
जङ्गली हात्ती आहारको खोजीमा गाउँघर पस्ने गरेकोले जङ्गलमा हात्तीलाई चाहिने आहारको खेतीको शुरुवात गर्नु जरुरी रहेको विज्ञको सुझाव छ । भारतको पश्चिम बङ्गाल सरकारसँग हात्ती व्यवस्थापनको बारेमा ठोस वार्ता नभए सम्म हात्ती आतङ्क नरोकिने पीडितको भनाइ छ । वनभित्रै आहार र जलको व्यवस्थापन नभएसम्म हात्ती आतङ्कमा कमी नआउने उनीहरूको बुझाइ छ । यसको रोकथामका लागि सौर्य तारवारसहितको जैविक पदमार्ग र आहार खेती, जल मुख्य योजना बनाउनु पर्नेमा उनीहरू बताउँछन् । हात्तीको उपद्रोका कारण सर्वसाधारण आक्रान्त बनेको अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय भद्रपुरमा बैठक बसेको छ ।
प्रदेश सभा सदस्य एकराज कार्की, भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ, अर्जुनधाराका मेयर हरिकुमार राना त्यसैगरी प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर,प्रमुख सेनानी मुकाहाङ याकथुम्बा, प्रहरी प्रमुख एसपी दिनेशराज मैनाली, सशस्त्रका एसपी रेशमकुमार थक्सू,उपअनुकसन्धान निर्देशक सुशान्त बराल, कृषि ज्ञान केन्द्रका नीलकमल सिंह, डिभिजन वन प्रमुख विष्णुलाल घिमिरे लगायतको उपस्थितिमा बैठक बसेको थियो ।
बैठकले सामुदायिक वन, पालिका, वन कार्यालय ,स्थानीय प्रशासन,स्थानीय जनसमुदाय सबैको पहलमा हात्तीको आक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न ड्रोनमा साइरन जडान गरी सो को प्रयोग र व्यवस्थापनको लागि डिभिजन वनलाई जिम्मा दिने निर्णय भएको जनाइएको छ ।
































